काठमाडौं । नेपाली राजनीतिक वृतमा वामपन्थी कम्युनिष्ट घटकहरूको एकता प्रक्रिया तीव्र बन्दा यसले प्रवास संगठनहरूमा पनि उल्लेखनीय प्रभाव पारेको छ।
नेपालमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दल र विचार समूहहरूमार्फत गठन भएको नेकपा (नेपाली कम्युनिष्ट पार्टी) को एकतालाई साथ दिँदै प्रवासी संगठनहरू पनि एकतापथमा अघि बढिरहेका छन्।
दक्षिण कोरियामा नेपाली जनप्रगतिशील मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता सम्पन्न भइसकेपछि युएईमा पनि दुई पार्टीका प्रवासी संगठनबीच एकता प्रक्रिया थालिएको छ।
युएईमा नेकपा एकीकृत समाजवादी निकट प्रवास संगठन ‘प्रवासी नेपाली एकता मञ्च युएई’ ले केन्द्रमा भएको एकतालाई पूर्ण साथ र समर्थन जनाउँदै नेकपा माओवादी केन्द्र निकट प्रवासी संगठन ‘नेपाली जनप्रगतिशील मञ्च युएई’ सँग एकतालाई व्यवहारिक रूप दिने उद्देश्यले सात सदस्यीय वार्ता समिति गठन गरेको छ।
समितिले प्रवासमा रहेका वाम घटकहरूबीच एकता, सहकार्य र सुदृढ संगठन निर्माणका लागि आवश्यक तयारी तथा छलफल अघि बढाउने जिम्मेवारी पाएको छ।
गठित वार्ता समितिको संयोजकमा बिपिन सापकोटा रहेका छन् भने सदस्यहरूमा सन्दिप पौडेल, चेत नारायण भट्टराई, राम कुमार नेपाल, राम जित मोक्तान, तोया नाथ पौडेल र विवेक चापागाईं रहेका छन्।
बैठकमा बोल्दै सचिव पौडेलले प्रवासमा राजनीतिक संगठनबीचको एकताले राष्ट्रिय राजनीतिक विषयभन्दा बढी सामाजिक क्षेत्रमा प्रभावकारी परिणाम दिने उल्लेख गरे। उनले युएईमा खुला राजनीतिक गतिविधि, संगठन निर्माण र कार्यक्रम आयोजना गर्न कानुनी बन्देज रहेको बताउँदै, “हामीले यहाँको कानुन अनुसरण गर्नैपर्छ, गर्दै आइरहेका पनि छौं। हामी सामाजिक मुद्दा र परोपकारी कार्यमा क्रियाशील छौं,” भने। उनका अनुसार श्रम बजारभित्रका व्यक्तिगत समस्या देखिनेदेखि देशमा विपद् पर्दा सहयोग पुर्याउनेसम्मका कार्यमा प्रवासी नेपालीहरूको संयुक्त प्रयास आवश्यक छ।
पौडेलले भिन्न–भिन्न धारा र संस्थामा फुटेर काम गर्नुभन्दा एकतावद्ध संगठनमार्फत गतिविधि सञ्चालन गर्दा सहजता र प्रभावकारिता बढ्ने बताए। “हामी यहाँ कोही श्रमिक छौं, कोही व्यवसायी, कोही विद्यार्थी। भिन्न–भिन्न पेशामा संलग्न सबैका ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्दै एकतावद्ध नेपाली समाज निर्माण गर्न सके समस्याको पहिचान र समाधान दुवैमा शक्तिशाली बन्न सक्छौँ,” उनले भने।
विज्ञान र प्रविधिको आधुनिक युगमा वैज्ञानिक समाजवादको गन्तव्य कम्युनिष्ट विचारधारात्मक व्यक्ति विशेषको आस्था मात्र नभई सम्पूर्ण युगकै आवश्यकता भएको उल्लेख गर्दै पौडेलले यो एकता प्रक्रिया दुई विचार संगठनबीचको एकता मात्र नभएर युएईमा रहेका झण्डै ८ लाख नेपालीलाई समेट्ने एकीकृत प्रवासी नेपाली संगठन निर्माणतर्फको योजनाबद्ध अभियान भएको स्पष्ट पारे। उनका अनुसार सामाजिक, न्यायिक, मानवअधिकार, परोपकार, पर्यटन, व्यापार र लगानी प्रवर्द्धनका क्षेत्रमा प्रवासी नेपालीहरूको सामूहिक दृढता र एकतालाई उदाहरणीय रूपमा प्रस्तुत गर्ने लक्ष्य सहित यो प्रक्रिया अघि बढाइएको छ।
