काभ्रे जिल्लाको कोशीपारी क्षेत्र अन्तर्गत पर्ने चौरी देउराली, भौगोलिक रूपमा दुर्गम तर चेतनाका दृष्टिले सधैं अग्रगामी क्षेत्र। यही माटोबाट २०५० सालतिर राजनीतिमा होमिएका एक नाम हो, बिपिन सापकोटा। ग्रामीण जनजीवनका पीडा, गरिबी, बेरोजगारी, र राज्यको पहुँच नपुगेको यथार्थ नजिकबाट देखेका सापकोटाले किशोर उमेरदेखि नै परिवर्तनको राजनीतिलाई आफ्नो जीवनको बाटो बनाएका थिए।
विद्यालय जीवनमै सामाजिक अन्यायविरुद्ध बोल्ने स्वभावका उनी स्थानीय स्तरका अभियानहरूमा सक्रिय हुँदै गए। चौरी देउरालीमा सडक, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत अधिकारको लागि उठाइएका आवाजमा उनको उपस्थितिले धेरै युवालाई संगठित गर्यो। यही संघर्षले उनलाई काभ्रेको सिमाना पार गर्दै काठमाडौंसम्म ल्यायो।
काठमाडौं–३ बाट संगठन निर्माण
काठमाडौं–३ क्षेत्रलाई कर्मथलो बनाउँदै सापकोटाले युवालाई राजनीतिमा जोड्ने अभियान थाले। उनी केवल भाषणमा सीमित नेता बनेनन्, जनताका घर–घर पुगेर उनीहरूको समस्या सुन्ने, समाधान खोज्ने र सम्बन्धित निकायसम्म आवाज पुर्याउने कार्यकर्ता बने।
राजनीतिमा पैसाभन्दा विचार र इमानदारी ठूलो हुन्छ भन्ने मान्यतालाई व्यवहारमा उतार्ने क्रममा उनले धेरै चुनौती झेले। तर जनताको भरोसाले उनलाई सधैं अगाडि बढायो।
प्रवास पुगे पनि राजनीति छोडेनन्
जीवन र रोजगारीका कारण बिपिन सापकोटा यूएई पुगे। धेरैका लागि प्रवास राजनीतिक जीवनको अन्त्य हुन्छ, तर सापकोटाका लागि यो नयाँ मोर्चा बन्यो।
यूएईमा रहेका हजारौँ नेपाली श्रमिक, व्यवसायी र विद्यार्थीहरूको अवस्था नजिकबाट देखेपछि उनले बुझें, प्रवासमा नेपालीहरू अझ बढी संगठित हुन आवश्यक छ।
यही आवश्यकताबाट जन्मियो प्रवासी नेपाली एकता मञ्च, यूएई, जसको अध्यक्षको जिम्मेवारी अहिले बिपिन सापकोटाले सम्हालिरहेका छन्।
प्रवासी नेपालीको साझा आवाज
उनको नेतृत्वमा मञ्च केवल नामको संस्था होइन, श्रमिकको समस्या, कानुनी झन्झट, सामाजिक सहयोग, आपतकालीन राहत, र राष्ट्रिय चासोका विषयमा सशक्त आवाज बनिरहेको छ।
कुनै नेपाली कामदार अलपत्र परे, कसैलाई न्याय चाहियो, वा कसैलाई देश फर्किन सहयोग आवश्यक पर्यो, एकता मञ्च त्यहाँ पुग्ने प्रयास गर्छ।
सापकोटा भन्छन्, “प्रवासमा हामी पैसामात्र कमाउन आएका होइनौं, राष्ट्रको भविष्य पनि बोकेर आएका हौं।”
विचार, संघर्ष र प्रतिबद्धता
उनको राजनीति पदको लागि होइन, उद्देश्यका लागि हो। उनी सधैं युवाको सहभागिता, प्रवासीको सम्मान, र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर बोल्छन्।
काभ्रेको गाउँदेखि काठमाडौँ र अहिले यूएईसम्मको यात्राले उनलाई एउटा कुरा सिकाएको छ,
राजनीति जहाँ भए पनि जनताको पक्षमा उभिनु नै साँचो राजनीति हो।
आज बिपिन सापकोटा प्रवासमा बसेर पनि नेपालको राजनीतिक चेतनामा सक्रिय छन्। उनको संघर्षले प्रमाणित गर्छ, भूगोल टाढा भए पनि माटोसँगको नाता कहिल्यै टुट्दैन।
