काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २६६ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा विभागले यो तथ्याङ्क सार्वजनिक गरेको हो ।
विभागका अनुसार श्रम स्वीकृति लिनेमा ७ लाख ४४ हजार ८११ पुरुष र ९४ हजार ४५५ महिला छन् । गत वर्ष सबैभन्दा धेरै श्रमिक जाने गन्तव्य मुलुकहरूमा युएई, साउदी अरेबिया, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, कोरिया, क्रोएशिया र बहराइन छन् ।
विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले पछिल्लो पाँच वर्षमा ३५ लाख १६ हजार ९६५ जनाले श्रम स्वीकृति लिएको बताए । हालसम्म १,६८७ संस्थाले इजाजत प्राप्त गरेका छन्, जसमध्ये २०८२ असार मसान्तसम्म २१२ संस्थाको नवीकरण भएको छ ।
भट्टराईले ‘वर्क परमिट अन दि सेम डे’ नीति पूर्ण रूपमा कार्यान्वयन भइरहेको र रित नपुगेका अनलाइन दरखास्तका लागि तत्काल सन्देशमार्फत कागजात पेस गर्न सूचित गरिने बताए ।
विभागले विचौलियामुक्त र शून्य सहनशीलताको नीति अवलम्बन गरेको उनले उल्लेख गरे।आगामी योजनाअन्तर्गत वैदेशिक रोजगारीसम्बन्धी कानुनलाई सरल, सहज र समयसापेक्ष बनाउने तथा रोजगारीमा जाने समय र लागत घटाउने लक्ष्य रहेको भट्टराईले बताए ।