काठमाडौं। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको अध्यक्षमा सुजन लामा मोक्तान निर्वाचित भएका छन् ।
१९ जुलाईमा भएको दशौं राष्ट्रिय एकता महाधिवेशनका लागि मनोनयनमा परेका मध्येबाट अध्यक्ष र कोषाध्यक्षबाहेक अन्य पदमा निर्विरोध भएको थियो । निर्वाचन समितिले २० जुलाईमा अध्यक्षमा मोक्तान र कोषाध्यक्षमा अशोक जोशीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । अध्यक्षमा दीपा काफ्ले र कोषाध्यक्षमा सविन पौडेलको पनि उम्मेदवारी परेको थियो ।
आइसिसी सदस्यमा राजकुमार गुरुङ, विनोद बुढाथोकी र सरिता शर्मा निर्विरोध भएका छन् । उपाध्यक्षमा प्रेमबहादुर बुढाप्रिती, गणेश गुरुङ, शिवराज राई, सुप्रेश गिरी, सुदन निउरे, विष्णुबहादुर घर्ती, र सरस्वती खनाल निर्विरोध भए । महिला उपाध्यक्षमा पेमा डोमा शेर्पा निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।
महासचिवमा गोविन्द बुढाथोकी, सचिवमा सुरजराज भण्डारी, पुष्करराज जोशी र सुवास पौडेल निर्विरोध भए । सह कोषाध्यक्षमा प्रभा अधिकारी र युवा संयोजकमा पेम्बा शेर्पा निर्विरोध भएको निर्वाचन समितिका संयोजक गम्भीर जंग गुरुङले जनाएका छन् ।
त्यस्तै सदस्यहरुमा ज्ञानेन्द्र आचार्य, भवानीशंकर कडेल, हरि देवकोटा, दीपक भण्डारी, नरिश्वर न्यौपाने, कविता गेलाल, दिनेश पौडेल, विनोद के.सी र सुवास आचार्य निर्विरोध चयन भएका छन् ।
दुईवर्षे कार्यकालको अध्यक्षमा उम्मेदवारी दिँदै गर्दा लामाले ‘एनआरएनको हिजोको पुस्तालाई स–सम्मान, आवाजविहीन नेपालीहरुको आवाजसहित युवाको नेतृत्व यसपटक’ भन्ने नारा अघि सारेका थिए । उनले आफ्नो कार्यकालमा आफूले निर्वाचनका बेला घोषणा गरेका प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।