काठमाडौं । आज देशभरका विभिन्न १० राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार पछिल्लो समय निरन्तर परिरहेको वर्षाका कारण बाढी पहिरो जाँदा विभिन्न सडक अवरुद्ध भएका हुन् ।
सङ्खुवासभाको भोटखोला–४ बरुणखोला स्थित कोशी राजमार्ग गत जेठदेखि नै अबरुद्ध छ । बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारी देखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रूपमा अवरोध भएको हो ।
त्यस्तै मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । यो राजमार्गको इलाम खण्ड भने पहिरोका कारण अवरुद्ध छ ।
रुकुम पूर्व मध्यपहाडी लोकमार्ग निर्माण कार्य अवधिसम्मको लागि पूर्णरुपमा बन्द रहेको छ । मुस्ताङ वारागुङ मुक्तिक्षेत्रको जोमसोम कोरोला सडक खण्ड स्थित छुसाङ र ताङवे, बिच कालाभिर स्थित बाटो अवरोध लेदोसहितको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ ।
यता म्याग्दी बेनी–०४ घुमाउने भिर स्थित बेनी –दरवाङ सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ । बीपी राजमार्गको विभिन्न स्थानमा पनि सडक अवरुद्ध छ । पाँचथरको तुम्वेवा–२ र धनकुट्टाको चौबिसे –४ सिमाना स्थित तमोर–कोरिडोर सडकखण्ड बाढीका कारण अबरुद्ध छ ।
ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका ०६ र ०७ को सिमाना स्थित सिद्धिचरण लोकमार्ग, रसुवाको पासाङल्हामु सडक खण्डमा विभिन्न स्थान, सिन्धुलीको गोलन्जोर–६ अकरेभिर स्थित मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
पाँचथरको याङवरक–३ मध्य पहाडी लोकमार्ग, रामेछापको खाँडादेवी–१ खैरेनीघाट स्थित मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
