गुल्मीका ग्रामीण सडक कालोपत्रे, धुलो–हिलोको दु:ख अन्त्य हुँदै

रेसुङ्गा (गुल्मी) । दशौं वर्षदेखि धुलो र हिलोको सास्ती भोग्दै आएका गुल्मीका ग्रामीण बासिन्दाले अहिले सहज यात्राको अनुभव गर्न थालेका छन्। इस्मा गाउँपालिका–२ स्थित छल्दी–रातडाँडा सडक दुई दशकपछि कालोपत्रे हुन थालेपछि स्थानीयवासीमा उत्साह छाएको छ।

सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर दीपक विकका अनुसार तीन खण्डमा कालोपत्रेको काम अघि बढिरहेको छ। करिब डेढ करोड रुपियाँ लागतमा रातचौरको ४९० मिटर र रातडाँडाको ३७० मिटर भाग कालोपत्रे गरिसकिएको छ। पहिलो खण्ड छल्दी–रातचौरको काम भने अझै बाँकी छ।

यससँगै सदरमुकाम तम्घाससँग जोडिने वैकल्पिक मार्ग बाख्रेछेडा–भाडगाउँ–रातडाँडा सडक पनि स्तरोन्नतिसहित कालोपत्रे भइरहेका छन्। सडक पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख सचितानन्द चौधरीका अनुसार भिमढुङ्गा–रामजाने–जयबाबा जेभीसँग दुई वर्षभित्र झण्डै ६ किलोमिटर सडक कालोपत्रे गर्ने १७ करोड ६८ लाख रुपैयाँको सम्झौता भएको छ, जसको करिब २० प्रतिशत भौतिक प्रगति भइसकेको छ।

इस्मा गाउँपालिकामा छल्दी–इस्मामैदान–अर्खबाङ्ग, अमरपुर, अर्जे र घमिरतर्फका खण्डमा पनि कालोपत्रे अघि बढ्दैछ। मदाने गाउँपालिकाभित्रका सेउघा–सिमाघाट–बर्बोट–पुर्कोट सडकको अधिकांश भाग कालोपत्रे भइसकेको छ।

रेसुङ्गा नगरपालिकाले तीन वर्षमा मात्रै ६५ किलोमिटर सडक कालोपत्रे गरेको प्रमुख खिलध्वज पन्थीले जानकारी दिए। गुल्मीदरवारको चारपाल, गौडाकोट–मजुवा, छत्रकोटको पिपलनेटा, भेडुवा, हुँगाका आन्तरिक सडक, रुरुक्षेत्रको बलेटक्सार–रानीबास–थानपतीसहितका भित्री सडकमा पनि स्तरोन्नति र कालोपत्रे सुरु भएको छ।

मुसिकोट, सत्यवति, चन्द्रकोट र कालिगण्डकी गाउँपालिकामा पनि मुख्य सडकदेखि सहायक मार्गसम्म कालोपत्रेको काम तीव्र गतिमा अगाडि बढ्दैछ। निरन्तर विस्तार र सुधारसँगै अब पहाडी बस्तीका बासिन्दाले धुलो र हिलोको कष्ट झेल्नुपर्ने अवस्था अन्त्य हुनेमा स्थानीयले खुशी व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *