घटस्थापनायता काठमाडौँमा १७५ दुर्घटना, ९ जनाको मृत्यु

काठमाडौँ । दसैँको घटस्थापनादेखि आजसम्म काठमाडौँ उपत्यकामा भएका १७५ सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने १८८ जना गम्भीर घाइते भएका छन् ।

उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार अधिकांश दुर्घटना रातिको समयमा भएका हुन् । उनका अनुसार ट्राफिक प्रहरीको सक्रियताले गत वर्षको तुलनामा यस वर्ष दुर्घटनाको संख्या केही घटेको छ। सुवेदीले भने, “दसैँ अघि नै सवारीसाधनको जाँच कडाइ गरिएको थियो। मापसे परीक्षण, चालक अनुमतिपत्र निरीक्षण र गति नियन्त्रणमा विशेष ध्यान दिइएको हो ।”

ट्राफिक प्रहरीले चालकहरूलाई विशेषगरी रातिको समयमा सवारी चलाउँदा सतर्क रहन, मादक पदार्थ सेवन नगर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ। प्रवक्ता सुवेदीका अनुसार रातिको समयमा सडक सुनसान हुने, चालकले सावधानी नअपनाउने र नशाको अवस्थामा तीव्र गतिमा सवारी चलाउने कारणले दुर्घटनाको जोखिम बढ्ने गरेको छ।

चाडपर्वमा रमाइलो गर्ने, राति घर फर्कने भीड र समयको हतारोले पनि दुर्घटनाको सम्भावना बढ्ने भएकाले ट्राफिक प्रहरीले सर्वसाधारणलाई अझ सतर्क रहन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *