महोत्तरी । वर्षभर आर्थिक अभाव र रोजगारीको खोजीमा संघर्षरत मधेशको डोम समुदाय अहिले छठपर्वसँगै उत्साह र उल्लासमा रमाएको छ । दीपावली सकिएसँगै सुरु हुने यो लोकआस्थाको पर्व छठ ले उनीहरूका जीवनमा अस्थायी भए पनि खुसी, आम्दानी र आत्मगौरवको उज्यालो ल्याएको छ ।
गरिबी र विपन्नताका कारण दैनिक ज्यालामजदुरी गरेर गुजारा गर्ने डोम, मुसहर, चमार र हल्खोर समुदायका मानिसहरू वर्षको अधिकांश समय हातमुख जोड्न संघर्ष गर्छन् । तर, छठ सुरु भएलगत्तै उनीहरूको सीप र परम्परागत पेशाले पुनः मूल्य पाउँछ — बाँस र बेतका चोयाबाट पूजाका सामग्री बनाउन उनीहरूलाई भ्याइनभ्याई हुन्छ ।
गौशाला नगरपालिका–५ का मञ्जय मलिक भन्छन्, “अरु बेला गाँस, बास र कपासकै जोडजाममा हम्मेहम्मे पर्छौं, तर छठ आउँदा दुःख बिर्सिन्छौं । यो पर्वले काम, दाम र मुस्कान तीनै ल्याउँछ ।”
औरही नगरपालिका–१ का ५० वर्षीय इन्दल मलिकका अनुसार छठ नजिकिँदै जाँदा डोमहरूलाई डालो, नाङ्लो, टपरी र पूजाका अन्य सामग्री बनाउन फुर्सदै हुँदैन । उहाँ भन्छन्, “समय बदलियो, हाम्रा सीपको मूल्य अरु बेला हराउँछ, तर छठमा हामीमाथि सबैको नजर पर्छ । हाम्रो सीपकै कारण यो पर्व सम्पन्न हुन्छ, यही हाम्रो गर्व हो ।”
छठ मनाउने प्रत्येक घरमा बाँस र बेतका नयाँ भाँडाकुडा प्रयोग गर्नुपर्ने परम्परा भएकाले डोम समुदायले कात्तिक महिनाभर उत्कृष्ट आम्दानी गर्ने अवसर पाउँछन् । महोत्तरी, धनुषा र आसपासका जिल्लामा लाखौँ भक्तजनले पूजाका लागि यिनै सामग्री किन्ने भएकाले बजारमा आपूर्ति गर्न उनीहरूलाई समय पुग्दैन ।
गौशालाकी ६० वर्षीया सबिता मलिक भन्छिन्, “छठ आउनासाथ कामको चटारो बढ्छ, आम्दानी हुन्छ, बालबालिकाका आवश्यकताहरू पूरा गर्न सजिलो हुन्छ । यही हाम्रो चाड हो, यही हाम्रो कमाइको बेला हो ।”
बजारमा अहिले एउटा बाँसको मूल्य रु २२५ देखि ३०० रुपैयाँ पुगिसकेको छ भने त्यसबाट बनेका डालो, नाङ्लो र टपरीको मूल्य ३०० देखि १५०० रुपैयाँसम्म पर्छ । डोमहरूले उत्पादन गरेका यी सामग्रीहरू गाउँ–गाउँ र बजारमा पु¥याउन व्यस्त छन् ।
औरही–६ बैरियाका राजेन्द्र मलिक भन्छन्, “छठमा एक महिना भए पनि हातमा काम रहन्छ । काम भएपछि दाम र माम दुवै हुन्छ । यही बेला हाम्रो वर्षभरको आशा पूरा हुन्छ ।”
यो समुदाय वर्षभर सुँगुरपालन र सामान्य मजदुरी गरेर गुजारा गर्छ, तर छठका बेला उनीहरूको परम्परागत सीपले सम्मान र रोजगारी दुवै दिन्छ । छठ मनाउनेहरूले तिनकै हातले बनेका बाँसका भाँडाकुडा प्रयोग गरेर सूर्यदेव र छठीमैयालाई अर्घ्य अर्पण गर्छन् ।
यही कारणले छठपर्व डोम समुदायका लागि केवल धार्मिक पर्व होइन, अस्तित्व, पहिचान र आर्थिक सशक्तीकरणको प्रतीक बनेको छ । अरु बेला “पानी नचल्ने जात” भनेर हेलामा पारिने उनीहरूका घरमा नै छठ मनाउनेहरू सामान लिन पुग्छन् ।
महोत्तरीका बिन्दी मलिक भन्छन्, “छठ हाम्रो लागि पर्व मात्र होइन, आशाको समय हो । जब बाँसका चोयाबाट बनाएका सामान गाउँगाउँ पुग्छन्, तब लाग्छ — हाम्रो सीपको सम्मान बाँचिरहेको छ ।”
वर्षको एक महिनाभर कामको अवसर ल्याउने यो पर्वले डोम समुदायको चुल्होमा उज्यालो बाल्ने मात्र होइन, मिथिलाञ्चलको सहअस्तित्व र साझा संस्कृतिको सुन्दर प्रतीक पनि बनेको छ ।
