जेनजी आन्दोलनमा करिब २ खर्ब बराबरको संरचना नष्ट, पुनर्निर्माणमा सबै नेपालीको सहभागिताको आह्वान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले हालैको जेनजी आन्दोलनले देशभर करिब दुई खर्ब रुपैयाँ बराबरको सरकारी र निजी संरचना ध्वस्त पारेको बताएका छन्।

शुक्रबार काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी र तोडफोडको निरीक्षणपछि पत्रकारसँग कुरा गर्दै मन्त्री घिसिङले “देशभरका सरकारी संरचनाहरू जलेका छन्, ध्वस्त भएका छन्,” भन्दै पुनर्निर्माणलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन सबै नेपालीको सहभागिता अनिवार्य रहेको बताए।

उनका अनुसार सरकारले पुनर्निर्माण कोष स्थापना गरिसकेको छ र श्रमदानदेखि आर्थिक सहयोगसम्मका माध्यमबाट देशभित्र र विदेशमा रहेका सबै नेपालीलाई एक्यवद्ध भएर पुनर्निर्माणमा हातेमालो गर्न अनुरोध गरिएको छ।

सरकारले सरसफाइ र पुनर्निर्माण अभियानलाई निरन्तरता दिने तयारी गरिरहेको उल्लेख गर्दै मन्त्री घिसिङले “यो देश निर्माणको साझा अभियान हो, हामी नेपालीले आफैंले बनाएको संरचना फेरि आफैंले उभ्याउनुपर्ने जिम्मेवारी अहिले हाम्रो काँधमा आएको छ,” भने।

जेनजी आन्दोलनका क्रममा विभिन्न जिल्लामा सरकारी भवन, सवारीसाधन र सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ। सरकारले अब ती पूर्वाधारको पुनर्स्थापनाका लागि आवश्यक कानुनी र प्राविधिक पहल सुरु गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *