डेढ वर्षदेखि बन्द भेरी अस्पतालको सिटी स्क्यान, बिरामीलाई उपचारमा समस्या

नेपालगन्ज । पश्चिम नेपालको २४ जिल्लालाई सस्तो र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्दै आएको भेरी अस्पतालको सिटी स्क्यान मेसिन डेढ वर्षदेखि बिग्रिएर बन्द भएको छ, जसले दुर्गम र आर्थिक रूपमा कमजोर बिरामीलाई उपचारमा गम्भीर समस्या सिर्जना गरेको छ।

करिब १८ महिनादेखि सञ्चालनमा नआएको सिटी स्क्यानका कारण बाँके, बर्दिया लगायतका जिल्लाका दुर्घटनामा परेका तथा न्युरोसम्बन्धी बिरामीलाई तत्काल उपचारमा कठिनाइ परेको अस्पतालले जनाएको छ।

भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार सिटी स्क्यान मेसिनको ट्युब बिग्रिएको र मर्मत सम्भारको प्रक्रिया अघि बढाउन पटक–पटक स्वास्थ्य मन्त्रालयमा प्रयास भए पनि हाल बजेटमा १ करोड ३२ लाख रुपैयाँ छुट्याइएको थियो। तर, जेन–जी आन्दोलनपछि स्वास्थ्य मन्त्रालयले हालका लागि कुनै उपकरण मर्मत र खरिद नगर्न मौखिक आदेश दिएको उनले बताए।

पुरानो मेसिनको मर्मतमा खर्च गर्नुभन्दा नयाँ मेसिन ल्याउने प्रयास भए पनि अहिलेसम्म सफल भएको छैन। सिटी स्क्यान सेवा उपलब्ध नहुँदा कतिपय विपन्न बिरामी उपचार नपाएर फर्किनु परेको छ। विशेष गरी राति दुर्घटनामा परेका बिरामीहरूलाई तत्काल सेवा उपलब्ध नहुँदा थप पीडा भइरहेको अस्पतालले जनाएको छ।

भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केत रिसालका अनुसार, पैसा नभएका बिरामीले निजी अस्पतालमा सिटी स्क्यान गराउन बाध्य हुनुपरेको छ। अस्पताल विकास समितिका पूर्व सदस्य कृष्णप्रसाद श्रेष्ठले भने, “सस्तोमा उपचारको आशा लिएर आएका बिरामी महँगो शुल्क तिरेर बाहिर जान बाध्य छन्।”

सिटी स्क्यान मेसिन १३ वर्ष पुरानो रहेकोले गुणस्तरीय उपचारका लागि नयाँ मेसिन ल्याउने दबाब दिनुपर्ने अस्पताल विकास समितिले जोड दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *