काठमाडौँ । आगामी २१ फागुनमा हुने संघीय संसद् निर्वाचनका लागि विदेशी सहयोग आवश्यक नपर्ने अर्थमन्त्री रामेश्वर खनालले स्पष्ट पारेका छन्। नेपाल आर्थिक पत्रकार समाजसँगको भेटमा उनले भने, सरकारले १ खर्ब १० अर्ब रुपैयाँ बजेट रोकिएको आयोजनाबाट निकालेर निर्वाचन व्यवस्थापन गर्न सक्ने अवस्था छ।
मन्त्री खनालका अनुसार, खर्च नहुने कार्यक्रम र काम सुरु नभएका आयोजनाबाट बजेट कटौती गरी आवश्यकता अनुसार खर्च गर्न सकिनेछ। विगतमा तीन तहको निर्वाचनमा २५ अर्ब रुपैयाँ खर्च भएको भए पनि यसपटक त्यसभन्दा कम खर्च हुने अपेक्षा गरिएको छ। तर जलेका पालिकाभवन र सुरक्षा व्यवस्थाका कारण केही अतिरिक्त खर्च हुनसक्ने संभावना रहेको उनले बताए।
अर्थ मन्त्रालयले निर्वाचनका लागि बजेट व्यवस्थापनको तयारी पूरा गरिसकेको छ। मन्त्री खनालले क्राउड फन्डिङको विकल्प पनि खुला रहेको जानकारी दिएका छन्। उनले सरकारले पुनर्निर्माण, पीडित परिवारलाई सहायता, र भौतिक क्षतिको मूल्यांकनमा सक्रिय रूपमा काम गरिरहेको पनि जानकारी गराए।