नौ वर्षपछि हुम्लाको चङ्खेली र ताजाकोटमा जन्म–मृत्युमा खाद्यान्न सुविधा सुरु

हुम्ला । नौ वर्षअघि सुरु गरिएको जन्म र मृत्युमा खाद्यान्न सहयोग कार्यक्रम अब हुम्लाका चङ्खेली र ताजाकोट गाउँपालिकामा पनि लागू भएको छ। यसअघि नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगार्ड र अदानचुलीका स्थानीय मात्र यो सुविधाबाट लाभान्वित हुँदै आएका थिए।

जिल्ला खाद्य व्यवस्था समितिको हालैको बैठकले दुई गाउँपालिकाका स्थानीयलाई समेत समेट्ने निर्णय गरेको हो। अबदेखि जन्म वा मृत्यु हुँदा सरकारले उपलब्ध गराउने २० केजी खाद्यान्न सहयोग चङ्खेलीका लागि सर्केगार्ड डिपो र ताजाकोटका लागि अदानचुलीको श्रीनगर डिपोबाट उपलब्ध हुनेछ।

खाद्यान्न वितरणसँगै ढुवानी खर्चका लागि स्थानीयलाई प्रतिघटना एक–एक हजार रुपैयाँ नगद पनि दिइने व्यवस्था गरिएको छ।

गत आर्थिक वर्षमा मात्रै जन्म र मृत्युका लागि शाखा कार्यालय सिमकोट र विभिन्न डिपोहरूमार्फत १०४.६० क्विन्टल खाद्यान्न वितरण गरिएको थियो। यसका लागि २ लाख १२ हजार ५ सय रुपैयाँ ढुवानी खर्च भएको जिल्ला खाद्य व्यवस्था समितिका सिमकोट शाखा प्रमुख कृष्णबहादुर थापा मगरले जानकारी दिए।

यो निर्णयसँगै अब करिब एक दशकपछि चङ्खेली र ताजाकोटका स्थानीयले पनि राज्यबाट पाउने यो महत्वपूर्ण सुविधा उपभोग गर्ने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *