माथिल्लो तामाकोशीमा जलासय सफाइ: नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन आग्रह

दोलखा । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरस्थित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना यही साउन ३१ गते (शनिबार) बिहान ५ बजेदेखि राति ८ बजेसम्म जलासय सफा गर्ने भएको छ।

जलासय सफाइका क्रममा तामाकोशी नदीमा पानीको सतह घटबढ हुने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमका अनुसार बर्खायाम बाढीले जलासयमा थुप्रिएको बालुवा र गिट्टी हटाउन यो कार्य सुरु गरिएको हो।

सफाइ अवधिभर तामाकोशी नदीमा माछा मार्ने, पौडी खेल्ने, नुहाउने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटी–बालुवा निकाल्ने, गाडी तार्ने लगायतका कार्य नगर्न अनुरोध गरिएको छ। लामाबगर, छ्योतछ्योत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्ती हुँदै सुनकोशी नदीको दोभानसम्म सतर्कता अपनाउन भनिएको छ।

त्यसदिन विद्युत् उत्पादन पूर्ण रूपमा बन्द हुने पनि आयोजना पक्षले जनाएको छ। साथै, नदी किनारमा दाहसंस्कार वा धार्मिक कर्मकाण्ड गर्नुपर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *