रुकुमपश्चिम । दुर्गम र पहाडी भेगका विपन्न गर्भवती तथा सुत्केरी महिलाका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम जीवनरक्षक सिद्ध भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत गरिने हेलिकोप्टर उद्धारले अनेकोंको ज्यान बचाएको तथ्यांकले देखाएको छ।
आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार, पछिल्लो तीन वर्षमा नगरक्षेत्रमा मात्र आठ पटक हेलिकोप्टरमार्फत जोखिममा परेका महिलाको उद्धार गरी ज्यान जोगाइएको छ। कठिन भौगोलिक अवस्थाका कारण साधारण यातायात पहुँच नभएका वडामा यो सुविधा अपरिहार्य भएको उनको भनाइ छ।
जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमले प्रसूति सेवाको अभावमा हुने अकाल मृत्यु घटाउन, सुरक्षित मातृत्व सेवा सुनिश्चित गर्न र नवजात शिशुको जीवनरक्षा गर्न यो कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको बताए।
जिल्ला प्रशासन कार्यालयका तथ्यांकअनुसार, पछिल्ला तीन वर्षमा रुकुमपश्चिममा १७ जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। जटिल अवस्था — जस्तै अत्यधिक रक्तस्राव, गर्भाशयको नलीमा गर्भ, श्वासप्रश्वास समस्या, बेहोसी, वा प्रसूति गर्न नसक्ने स्थिति —मा रहेका महिलालाई तत्काल उद्धार गरिएको हो।
प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीका अनुसार, मातृ र शिशु मृत्युदर घटाउने मुख्य उद्देश्यका साथ यो कार्यक्रम रुकुमपश्चिममा पूर्ण सफल भएको छ। १९ जिल्लामा पूर्णरूपमा र २९ जिल्लामा आंशिक रूपमा लागू भएको यस कार्यक्रममा उद्धारपछि घर फर्कदा यातायात खर्च र पोषण खानाका लागि २० हजार रुपैयाँसम्म उपलब्ध गराइन्छ।