भोजपुर । भोजपुर र संखुवासभालाई जोड्ने महत्वपूर्ण यातायात मार्ग — अरुण नदीको लम्सुवाघाटमा निर्माणाधीन पक्की पुल १५ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। विसं २०६७ सालमा निर्माण कार्य थालिएको यो पुलमा हालसम्म करिब चार करोड रुपैयाँ खर्च भइसकेको भए पनि काम अधुरै छ।
भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार पुलका लागि संघीय सरकारको लगानीमा ६ वटा पिलरको आधार तयार पारिए पनि त्यसपछि काम रोकिएको हो। उनले भने, “राज्यको चार करोड खर्चिसकेपछि पनि पुल अधुरै छ। हामी स्थानीय १५ वर्षदेखि आशामा बसिरहेका छौं।”
१७२ मिटर लामो पुल २०७० सालसम्म सक्ने सम्झौता निर्माण कम्पनीसँग गरिएको थियो। तर, निर्माणको गति सुस्त र निगरानी अभावका कारण काम बीचमै रोकियो।
स्थानीयवासी भक्तराज विश्वकर्माका अनुसार पुल नबन्दा यहाँका बासिन्दा वर्षौँदेखि आवतजावतमा समस्या खेपिरहेका छन्। “राज्यले बेवास्ता गरेकै कारण पुल अलपत्र छ,” उनले भने, “हामी प्रत्येक वर्ष यही अधुरो पुल हेरेर बस्न बाध्य छौँ।”
स्थानीयहरूले अब सरकारले तत्काल काम अघि बढाई लम्सुवाघाट पुललाई सम्पन्न गर्न ठोस पहल गर्नुपर्ने माग गरेका छन्।
