अभावबीच पनि सडक सुरक्षा सुनिश्चित गर्न ट्राफिक प्रहरीको प्रतिबद्धता

काठमाडौँ । चाडपर्वको भीडभाडमा पनि राजधानीको सडकलाई सुरक्षित राख्ने संकल्पसहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले आइतबार ‘ट्राफिक वाक’ सम्पन्न गरेको छ। संसाधन र जनशक्ति अभावसँग जुध्दै पनि यातायात व्यवस्थापनमा खटिने ट्राफिक प्रहरीको दृढ प्रतिबद्धता यही कार्यक्रममा झल्किएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलको संयुक्त आयोजनामा भएको कार्यक्रममा ‘सडक सुरक्षा हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित रानीपोखरीदेखि रणोद्धिप, भद्रकाली, सिंहदरबार हुँदै रामशाहपथसम्म जनचेतनामूलक र्‍याली गरिएको थियो। सहभागीहरूले विभिन्न प्लेकार्ड प्रदर्शन गर्दै सडक नियम पालनाको सन्देश फैलाए।

र्‍यालीपछि रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्वमा दुर्घटना न्यूनिकरणका लागि ट्राफिक नियमको कडाइका साथ पालना गर्न सबैलाई आग्रह गर्दै सभ्य समाज निर्माणमा सहकार्यको आवश्यकता औंल्याए।

विशिष्ट अतिथि हृदयरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले चाडपर्वमा मादक पदार्थ सेवन, तीव्र गति र लागूपदार्थ प्रयोगबाट हुने जोखिमबारे सचेत रहन आग्रह गर्दै यस्तो सचेतनामूलक कार्यक्रम समाजका लागि प्रेरक भएको बताए।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले अभावका बीच पनि निरन्तर ट्राफिक व्यवस्थापनमा खटिनु ट्राफिक प्रहरीको जिम्मेवारी र प्रतिबद्धताको परिचायक भएको उल्लेख गरे।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक ओमबहादुर राना, जनपद प्रहरी, सामुदायिक प्रहरी, काठमाडौँ महानगर प्रहरी बलका पदाधिकारी र सञ्चारकर्मीको उल्लेखनीय सहभागिता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *