काठमाडौं। नेपालले ऊर्जा आत्मनिर्भरता लक्ष्यतर्फ अघि बढ्दै गर्दा विद्युत् विकास विभागले चालु आर्थिक वर्षको पहिलो त्रैमासमै १० वटा नयाँ जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ। ती आयोजनाबाट कूल २४१ दशमलव ५० मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।
विभागका अनुसार हालसम्म देशभर २६६ जलविद्युत् आयोजनाले निर्माण अनुमतिपत्र प्राप्त गरिसकेका छन्। ती सबै आयोजनाको संयुक्त उत्पादन क्षमता १० हजार ८२५ मेगावाट रहेको छ।
नयाँ स्वीकृति पाएका आयोजनामध्ये लापा खोला (४.७२ मेगावाट), लोअर बरुण (१३२ मेगावाट), म्याग्दी खोला बी (१२.५० मेगावाट), तल्लो लिखु क्यासकेड (६ मेगावाट), माथिल्लो मेलम्ची (४.९५ मेगावाट), सुपर सभा खोला (९.५५ मेगावाट), लोअर मेलम्ची खोला (४.९६ मेगावाट), अप्पर सेती–१ (१३ मेगावाट), होङ्गु खोला (२८.९० मेगावाट) र इन्दुवा खोला (२४.९२ मेगावाट) छन्।
यी आयोजनाले निर्माण सुरु गरेसँगै आगामी वर्षहरूमा राष्ट्रिय ग्रिडमा थप ऊर्जा योगदान पुग्ने विभागले जनाएको छ।
विभागले हालसम्म १८५ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति दिएको छ भने ५९ परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन्। ती प्रस्तावित आयोजनाको क्षमता १० हजार ५३२ मेगावाट बराबर रहेको राष्ट्रिय समाचार समिति (रासस) ले जनाएको छ।
ऊर्जाको विविधीकरणका लागि सौर्य परियोजनातर्फ पनि गतिविधि तीव्र हुँदै गएको विभागले जनाएको छ। हालसम्म १२ वटा सौर्य आयोजनाले निर्माण अनुमति पाएका छन्, जसको संयुक्त क्षमता ८४ मेगावाट छ। यस्तै, थप ३ सौर्य आयोजनाले १५ मेगावाट क्षमताका लागि अनुमति मागेका छन्।
तर, अनुमति लिएर पनि निर्माण कार्य अघि नबढाएका १५ आयोजनाको अनुमतिपत्र विभागले खारेज गरेको छ। आवश्यक प्रक्रिया पूरा नगरेका ११ आयोजनाको पनि आवेदन रद्द गरिएको छ। साथै, सर्वेक्षण चरणमा रहेका ११८ आयोजनाको अनुमति पनि खारेज गरिएको विभागको भनाइ छ।
ऊर्जा क्षेत्रका विशेषज्ञका अनुसार यस्ता अनुमति र समीक्षा प्रक्रियाले परियोजना छनोट र कार्यान्वयनलाई पारदर्शी र जिम्मेवार बनाउन मद्दत पुर्याउँछ। नेपालले २०३० भित्र ऊर्जा निर्यातक मुलुक बन्ने लक्ष्य अघि सारिसकेको अवस्थामा यस्ता पहलहरू सकारात्मक संकेतका रूपमा हेरिएको छ।