सिराहा ।
“माझी दाईले जुनीभरि डुङ्गा तारिरहे, अरूलाई तार्दातार्दै आफूचाहिँ वारि रहे…”
गायक उदित नारायण झाको आवाजमा गुञ्जिएको यो गीत आज पनि सिराहाको कमला नदीमा जीवन–मरणको जोखिम मोलेर डुङ्गा चलाउने माझीहरूको पीडासँग मेल खान्छ। अरूलाई पार लगाउँदै आफ्नै जीवन भने अनिश्चित यात्रामा अल्झिएको छ—नदीको धार जस्तै, निरन्तर बगिरहेको।
७२ वर्षीय रामसेवक सहनी अहिले पनि बिहान सबेरै उठेर डुङ्गा लिएर नदीतिर लाग्छन्। उमेरले थिचे पनि बाध्यताले उहाँलाई थामेको छैन। “सानैदेखि यही घाटमा छु, डुङ्गा खियाउँदै जीवन बित्यो,” उनी भन्छन्। सहनीको जीवन डुङ्गासँगै बाँधिएको छ—जहाँ रोकावट छैन, विकल्प छैन, केवल बहाव मात्र छ।
कमला नदी किनारका अधिकांश माझीहरूको जीवन यही कथा दोहोरिन्छ। बिहान झिसमिसे घाटमा पुग्ने, घाम डुबेपछि मात्रै घर फर्कने। गर्मी, पानी, बाढी—सबैसँग लड्दै यात्रुलाई वारपार गराउने उनीहरूको सेवा निरन्तर छ। यात्रुले मोटरसाइकलसहित पार गर्दा सय रुपैयाँ, पैदल यात्रुले ५० रुपैयाँ दिने गर्छन्। यही आम्दानीले परिवार पाल्ने, डुङ्गा मर्मत गर्ने। तर एउटा डुङ्गा बनाउनै चार–पाँच लाख खर्च लाग्छ, पाँच वर्षपछि फेरि नयाँ बनाउनुपर्ने।
“यो पेसा त व्यवसायभन्दा बढी सामाजिक सेवा जस्तो लाग्छ,” ५२ वर्षीय छेदी मुखिया सुनाउँछन्। तीन दशकदेखि घाटमा डुङ्गा चलाउँदै आएका उनी भन्छन्, “हामी नभए स्थानीयलाई नदी पार गर्ने विकल्पै हुन्न।”
तर विडम्बना—कमलामाथि पक्की पुल बनाउने सपना १४ वर्षदेखि अधुरो छ। २०६८ सालमै सुरु गरिएको पुल निर्माण बर्खामा आएको बाढीले दुई पटक भासिएपछि अलपत्र परेको छ। निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन कालोसूचीमा पर्यो, नयाँ कम्पनीले पनि काम अघि बढाएन। पुल निर्माणको विवाद अदालतसम्म पुगेको छ।
यसैबीचमा स्थानीयहरू उपचारका लागि जनकपुर पुग्दा झण्डै तीन गुणा लामो बाटो घुम्न बाध्य छन्। बिरामीलाई ३१ किलोमिटरको दूरी पार गर्न ९० किलोमिटर यात्रा गर्नुपर्ने अवस्था छ।
“सरकारले त आश्वासन मात्रै दियो, तर माझीहरूले सेवा रोक्नुभएन,” स्थानीय सोनु यादव भन्छन्। “हामी सरकारभन्दा बढी उहाँहरूमै भर पर्छौँ।”
कमला नदीको घाटमा आज पनि चार–पाँच डुङ्गा यात्रुलाई पार गराइरहेका छन्। हरेक वर्ष बर्खा आउँछ, बाढी आउँछ, जोखिम आउँछ—तर डुङ्गा थाम्ने हातहरू कहिल्यै रोकिँदैनन्।
कमलाको किनारमा डुङ्गासँगै बगिरहेको यो जीवन कहिलेसम्म निरन्तर रहन्छ? त्यो भासिएको पुल उठेपछि मात्रै उत्तर पाइनेछ। तबसम्म माझीहरूको जीवन र कमलाको धार दुवै अविराम बहिरहनेछन्—थाक्दैनन्, रोकिँदैनन्, बस् निरन्तर बगिरहन्छन्।