कमला नदीमा पुल भासिएपछि ४ वर्षदेखि डुङ्गाकै भरमा आवागमन

लहान । सिरहा र धनुषा जिल्लाको सीमामा रहेको कमला नदी पार गर्न बनाइएको बाँसको अस्थायी पुल हालैको बाढीले बगाएपछि फेरि डुङ्गाबाट मात्र आवागमन सुरु भएको छ। अहिले नदी वारपार गर्न दुईवटा डुङ्गा सञ्चालनमा छन्, जसमा दैनिक सयौं स्थानीयले खेतिपाती, घाँस र आवतजावतका लागि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

चार वर्षअघि हुलाकी राजमार्गसँग जोड्न निर्माण गरिएको स्थायी कमला पुल उद्घाटनको तयारीमै असार २०७८ मा आएको बाढीले पूर्वी र पश्चिमी पाया भासाएपछि आवतजावत ठप्प भएको थियो। त्यसपछि वैकल्पिक रूपमा बाँसको पुल निर्माण भए पनि हरेक वर्ष बाढीले बगाउने क्रम नरोकेपछि यस वर्षदेखि स्थानीयले स्थायी रूपमा डुङ्गा प्रयोग गर्न थालेका छन्।

डुङ्गाबाट मोटरसाइकल पार गर्न रु १०० र पैदल यात्रुका लागि रु ५० तिर्नुपर्छ। नदी पार गर्न करिब एक घण्टा पालो पर्खनुपर्छ र यात्रा पनि निकै जोखिमपूर्ण रहेको स्थानीयको गुनासो छ। सिरहा नगरपालिका–५ बसबिटाकी ५० वर्षीया धर्म देवी यादव भन्छिन्, “पुल बन्दैछ भनेर खुसी भएका थियौं, तर उद्घाटन हुन नपाउँदै बग्यो। कहिले पुनर्निर्माण हुन्छ, कुनै अत्तोपत्तो छैन।”

पुल पुनर्निर्माणका लागि स्थानीय युवाले गत वर्ष मधेश प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि अनशनसम्म बसेका थिए। तर मधेश प्रदेश सरकारले पुनर्निर्माण गर्न नसक्ने जनाउँदै अर्को स्थानमा पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (DPR) बनाउन चालु आर्थिक वर्षमा रु १ करोड विनियोजन गरेको छ।

करिब ४७० मिटर लामो र ११ मिटर चौडाइ भएको यो पुल २०७१ सालमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित रु २४ करोड ९१ लाखमा पप्पु बिल्डर्सलाई ठेक्का दिइएको थियो। पटक–पटक म्याद थप्दा पनि काम ढिलाइ भएपछि ठेक्का तोडेर लुम्बिनी बिल्डर्सलाई दिइएको थियो। अन्ततः पुल तयार भए पनि बाढीको प्रकोपले स्थानीयको आशा र सपना नदीमै बगायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *