काठमाडौँ । काठमाडौं जिल्ला डेंगु संक्रमणको उच्च जोखिम क्षेत्रमा प्रवेश गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) का तथ्याङ्कअनुसार यस वर्ष जनवरी १ देखि हालसम्म उपत्यकामा ५ सय ६५ जना संक्रमित फेला परेपछि काठमाडौंलाई डेंगु संक्रमणको रेड जोन घोषणा गरिएको हो ।
संक्रमणको फैलिने दरलाई मापदण्डका रूपमा लिँदा कुनै जिल्लामा पाँच सयभन्दा बढी संक्रमित भेटिए सो जिल्लालाई उच्च जोखिममा राख्ने गरिएको छ । गत सेप्टेम्बर महिनामात्रै काठमाडौंमा २ सय नयाँ संक्रमित थपिएका थिए ।
ईडिसिडीको विवरणअनुसार अहिले देशका ७५ वटै जिल्लामा डेंगु फैलिएको छ । हालसम्म ५ हजार १ सय ९६ जना संक्रमित भइसकेका छन्, जसमा पछिल्लो सात दिनमै २७४ जना थपिएका छन् । यस वर्ष डेंगुका कारण २ जनाले ज्यान गुमाइसकेका छन् ।
पानी परेसँगै पोखरी, गमला, कुलर र ढलमा पानी जम्दा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिका लामखुट्टे प्रजनन गर्ने भएकाले संक्रमण तीव्र गतिमा फैलिएको स्वास्थ्य विज्ञहरू बताउँछन् । मन्त्रालयले अझै एक महिना संक्रमण बढ्ने सम्भावना रहेको भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ । घर वरपरका खाल्डाखुल्डी पुर्न, पानी जम्मा हुने भाँडो ढाक्न, गमलाको प्लेट वा कुलरको पानी नियमित परिवर्तन गर्न, झ्यालढोकामा जाली राख्न र झुल टाँगेर सुत्न मन्त्रालयले आग्रह गरेको छ ।
प्रदेशगत विवरणअनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै १ हजार ३२७ जना संक्रमित छन् । त्यसपछि बागमतीमा १ हजार १९१, लुम्बिनीमा ९११, सुदूरपश्चिममा ६२२, कोशीमा ७३७, कर्णालीमा २९६ र मधेश प्रदेशमा ११२ जना संक्रमित छन् ।
नेपालमा पहिलोपटक सन् २००६ मा चितवनमा डेंगु पुष्टि भएको थियो । त्यसयता सन् २०१० मा तराईका जिल्लाहरू, २०१९ मा धरान, २०२२ मा काठमाडौं उपत्यका लगायतका क्षेत्रमा डेंगुले महामारीको रूप लिएको थियो । यस वर्ष पनि काठमाडौंमै संक्रमण तीव्र बन्दै गएको स्वास्थ्य निकायले जनाएको छ । डेंगु अझै पनि जनस्वास्थ्यका लागि गम्भीर चुनौती बनेको भन्दै सचेतना र सावधानी नै रोकथामको प्रमुख उपाय हुने विज्ञहरूको सुझाव छ ।