काठमाडौं महानगरले बजार अनुगमन गर्दै, मूल्यदेखि म्यादसम्म कडाइ

काठमाडौं । हिन्दुहरूको प्रमुख चाड बडादशैं आउन लागेसँगै काठमाडौं महानगरपालिका (कामपा) अब उपभोक्ताको हित र बजार व्यवस्थापनमा कडाइका साथ उत्रिने तयारीमा छ। जेनजी आन्दोलनका कारण केही समय स्थगित भएको बजार अनुगमन आगामी सातादेखि पुनः सुरु गर्न महानगरले तयारी पूरा गरेको छ।

कामपाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले आन्दोलनका कारण केन्द्रदेखि स्थानीय तहसम्मका संयन्त्र पूर्ण रूपमा सक्रिय हुन नसके पनि अब सबै निकाय काममा फर्केकाले बजार अनुगमन थालिने बताए। उनले भने, “अनुगमनमा महानगरको टोलीसँगै केन्द्रका प्रतिनिधि र सुरक्षा निकायको सहभागिता रहनेछ।”

उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा चल्ने अनुगमन टोलीले प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार, खाद्य संस्थानको सुपथ बिक्री कक्षलगायत मुख्य स्थललाई प्राथमिकतामा राख्नेछ। टोलीले मूल्यसूची, उत्पादन र म्याद सकिने मिति, अधिकतम खुद्रा मूल्यलगायत विषयमा कडाइका साथ निरीक्षण गर्ने योजना बनाएको छ।

महानगरले विगतका वर्षमा पनि सुपरमार्केट र खाद्य पसलमा मूल्य अनुगमन गर्दै उपभोक्ता ठगीका घटना भेटिएमा कानुनअनुसार जरिवाना र कारबाही गर्दै आएको छ। यसपालि पनि त्यस्तै कडाइ हुने चेतावनी दिँदै कामपाले उपभोक्तालाई समेत सचेत रहन आग्रह गरेको छ।

बर्खामा पिउने पानीको जारमा गरेको नियमित अनुगमनको क्रममा मापदण्डविपरीत रहेका करिब ३०० जार नष्ट गरिसकेको कामपाले स्मरण गराउँदै दशैंअघि गुणस्तरीय र स्वच्छ सामग्री सुनिश्चित गर्न अझ कठोर निगरानी हुने जनाएको छ। उपभोक्ताबाट आउने गुनासोका आधारमा होटल र मिठाई पसलमा समेत आकस्मिक अनुगमन जारी रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *