ग्वार्को फ्लाईओभर : मुख्य संरचना निर्माणको काम सकियो

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण सम्पन्न भएको छ । फ्लाईओभरको मध्य भागमा डिभाइडर राख्ने र केही साना कामहरू बाँकी रहेको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले बताए । उनले आगामी २-३ दिनभित्र बाँकी कामहरू सम्पन्न गरी यातायात सञ्चालनका लागि फ्लाईओभर खुला गरिने जानकारी दिए ।

शनिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सडक विभागका पदाधिकारीहरूले फ्लाईओभरको स्थलगत निरीक्षण गरे । निरीक्षणका क्रममा मन्त्री दाहालले यो फ्लाईओभर निर्माण नयाँ अभ्यास भएकोले केही ढिलाइ भएको उल्लेख गर्दै मन्त्रालयले अन्य निर्माणाधीन योजनाहरूलाई प्राथमिकताका साथ सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सडक विभागका महानिर्देशक डा। विजय जैसीले मुख्य संरचनाको निर्माण सम्पन्न भएको र केही दिनभित्रै सार्वजनिक यातायात सञ्चालन सुरु हुने बताए ।

निर्माण कार्य तोकिएको समयमा सम्पन्न नभएपछि मन्त्री दाहालले पटक-पटक निरीक्षण र अनुगमन गरी चाँडो काम सक्न निर्देशन दिएका थिए । फ्लाईओभर सञ्चालनमा आएपछि कोटेश्वर र ग्वार्को क्षेत्रमा यातायात व्यवस्था सहज हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *