काठमाडौं । बडादसैँ, तिहार, नेपाल सम्बत र छठजस्ता लामो चाडपर्वका अवसरमा पनि स्वास्थ्य सेवा अवरुद्ध नहोस् भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई विशेष निर्देशन जारी गरेको छ।
मन्त्रालयले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघीय अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूलाई आवश्यक जनशक्ति र स्रोत–साधनको व्यवस्था गरी कम्तीमा आंशिक रूपमा भए पनि सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरिएको छ। अत्यावश्यक सेवा, आकस्मिक उपचार र शल्यक्रिया भने सधैंझैं अवरोधविना उपलब्ध हुने मन्त्रालयले स्पष्ट पारेको छ।
भदौ २३ र २४ गतेका प्रदर्शनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै मन्त्रालयले त्यतिबेलाको स्वास्थ्यकर्मीको सक्रिय भूमिकाप्रति आभार पनि प्रकट गरेको छ।
मन्त्रालयले चाडपर्वको व्यस्त समयमा समेत अस्पतालले निरन्तर सेवा उपलब्ध गराउने विश्वास व्यक्त गर्दै सबै सरोकारवालासँग सहयोगको अपील गरेको छ।