चौतारा । रसुवागढीस्थित मितेरी पुल बगाएपछि चीनतर्फ रोकिएका १७३ नेपाली बुधबार तातोपानी नाकाबाट नेपाल फर्किएका छन्। नेपाल हिमालयन सीमापार वाणिज्य संघका सचिव आङदोर्जे शेर्पाका अनुसार, कोदारी नजिक पहिरोका कारण सडक अवरुद्ध भए पनि उद्धार टोलीले वैकल्पिक व्यवस्था गर्दै उनीहरूलाई सुरक्षित नेपाल ल्याएको हो।
बाढीले मितेरी पुल बगाएपछि रसुवागढी नाका बन्द हुँदा नेपाल फर्कन नसकेका नेपालीहरूलाई चीन सरकारले गाडीको व्यवस्था गरी नेलाम हुँदै तातोपानी मितेरी पुलसम्म ल्याएको थियो। नेपालतर्फ आएपछि उनीहरूको स्वागत नेपाल हिमालय सीमापार वाणिज्य संघ, उद्योग वाणिज्य महासंघ, सरकारका प्रतिनिधि तथा सुरक्षाकर्मीहरूले गरेका थिए।
फिर्ता आएका नेपालीहरूलाई निःशुल्क बसमार्फत काठमाडौं पठाइएको छ। उनीहरूको जिम्मेवारी नेपालतर्फ कोदारी अध्यागमन कार्यालय, स्थानीय प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले लिएका छन्। चीनतर्फका अधिकारीहरूले पनि नेपाली नागरिकहरूलाई औपचारिक रूपमा नेपाल पक्षलाई हस्तान्तरण गरेका छन्।
यसअघि साउन ७ गते चीनले २०३ नेपाली नागरिकलाई तातोपानी नाकाबाट नेपाल फिर्ता गरिसकेको थियो। यसपटक केरुङ क्षेत्रमा स्वास्थ्य समस्या देखिन थालेका र दीर्घकालीन रोकावटको डर व्यक्त गरेका विभिन्न पेशाका नेपालीहरू उद्धार गरिएको थियो। रसुवागढी नाका अझै पूर्ण रूपमा सञ्चालनमा छैन भने तातोपानी नाका पनि पहिरोका कारण पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन।
नेपाल सरकारले, सीमापार संघ र उद्योग वाणिज्य महासंघको सहकार्यमा सडक सञ्चालनका लागि निरन्तर प्रयास गरिरहेको छ।