छ वर्षदेखि अलपत्र सर्लाहीको सोरमखोला पुल

सर्लाही । गोडैता नगरपालिका–६, बगदहस्थित सोरमखोलाको पुल निर्माण छ वर्षदेखि अधुरो रहँदा स्थानीय वर्षायाममा आवतजावत ठप्प हुने समस्यामा परेका छन्। बगदहदेखि सीमावर्ती बहादुरपुर जोड्ने कालोपत्रे सडकअन्तर्गतको यो पुल २०७४ फागुन ११ गते ४ करोड २७ लाख ७९ हजार रुपैयाँमा ठेक्का लागे पनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन।

२०७६ पुस १० गतेभित्र सम्पन्न गर्ने सम्झौता भए पनि म्याद चार पटक थपिएर अहिले २०८२ पुस ३० सम्म लम्बिएको छ। गोडैता–१, बहादुरपुरका वीरेन्द्रकुमार यादवका अनुसार, बाढी आएपछि विद्यार्थी, किसान र यात्रु पूर्ण रूपमा अवरुद्ध हुन्छन्। “बाढी आएको दिन वारपार गर्ने स्थिति हुँदैन,” यादव भन्छन्।

नगर प्रमुख देवेन्द्र यादवका अनुसार, ठेकेदारले पुल छाडेपछि पालिकाले आफ्नै स्रोतमा डाइभर्सन निर्माण गरेर आवतजावत मिलाउँदै आएको छ। तर बाढीका बेला गोडैताको १, २, ३ वडा र उत्तरी भेगबीचको सम्पर्क टुट्ने समस्या अझै कायम छ।

सडक डिभिजन चन्द्रनिगाहपुरका इन्जिनियर दीपेन्द्रकुमार साहका अनुसार, पुल करिब तयार भए पनि तटबन्ध (रिभर ट्रेनिङ) र एप्रोच रोडको काम बाँकी छ। “यो पटक ठेकेदारले अन्य अधुरा काम पूरा गरिसकेका छन्, पुसभित्र पुल पनि सक्ने विश्वास छ,” साहले बताए।

स्थानीय भने लामो प्रतीक्षापछि पनि पुल सञ्चालनमा नआउँदा चर्को असन्तोष व्यक्त गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *