काठमाडौं । दशैं–तिहार नजिकिँदै जाँदा राजधानीको गोँगबुस्थित नयाँ बसपार्क यात्रुको चापले भरिन थालेको छ। सामान्यतया दैनिक ४–५ हजार यात्रु बाहिरिने बसपार्कमा अहिले दैनिक १२ देखि १५ हजार यात्रु गृहजिल्ला फर्किन थालेका छन्।
जेन–जी आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालय र क्याम्पसहरूमा बिदा दिइएपछि विद्यार्थीसमेत घर फर्किन थालेकाले यात्रु संख्या तीव्र रुपमा बढेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले जानकारी दिए। उनका अनुसार आन्दोलनपछि सार्वजनिक यातायात पुनः सञ्चालनमा आएसँगै उपत्यका छोड्नेको संख्या ६५ हजारभन्दा बढी भइसकेको छ।
यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले दसैंको अग्रिम टिकट बिक्री यसवर्ष नगर्ने निर्णय भए पनि भीड असोजको पहिलो सातादेखि झन् बढ्ने अनुमान गरेका छन्। हाल नयाँ बसपार्कबाट ६५ भन्दा बढी जिल्लाका लागि दैनिक रुपमा बस सञ्चालन भइरहेको छ। सरकारले दसैंको चापलाई व्यवस्थित गर्न असोज ६ देखि २२ गतेसम्म रुट परमिट खुला गर्ने निर्णय गरेको छ।