काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताएकी छन् ।
नेपाल र चीन बिच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा काठमाण्डौमा शनिवार आयोजना गरिएको “अ विन्डो टु चाईना सिजाङ” कार्यक्रमलाई सम्बोधन गर्दै एक चीन नीति प्रतिको प्रतिबद्धता दोहो¥याइन् ।
उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति चीनको निःशर्त सम्मानको नेपालले कदर गर्ने बताइन् । तिब्बत आफैमा चित्रकला त्यसमा पनि बौद्ध धर्म सम्बन्धी कला सामग्रीहरू, मौलिक र परम्परागत तिब्बती लोकसंगीत, नृत्यका कारण धनी रहेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले यो कार्यक्रमले हिमाली सौन्दर्य , परम्परा र परिवर्तन जस्ता विषयवस्तुका बारेमा सबैलाई जानकारी गराउन तथा तिब्बतलाई नजिकबाट बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
उनले नेपालकी राजकुमारी भृकुटी र तिब्बती राजा सोंछेन गम्पोबीचको विवाहले नेपाली कला र संस्कृतिलाई तिब्बतमा प्रवाह गरेको बताउँदै तिब्बत केवल चीनको आँखी झ्याल नभई सांस्कृतिक, धार्मिक र मानवताको एउटा अनुपम विरासत भएको बताइन् ।