नौ वर्षदेखि अधुरो तामाकोशी पुल : जोखिम मोलेर यातायात

दोलखा । भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाको सिमानामा पर्ने तामाकोशी नदीमा नयाँ पुल निर्माण सुरु भएको नौ वर्ष बितिसक्दा पनि अधुरै छ ।

२०७३ सालमा करिब आठ करोड ४५ लाख रुपैयाँमा सम्झौता भएको पुलमा अहिलेसम्म दुईवटा पिल्लर मात्रै बनेका छन् । निर्माण कम्पनी मिलगिरी नेसनल जेभी सम्पर्कविहीन बनेपछि पुलको काम अलपत्र परेको हो ।

जिल्लाका चार स्थानीय तह र आधा दर्जन जलविद्युत् आयोजनाका सामग्रीसहित सदरमुकाम आवतजावत गर्ने यो मार्ग अहिले पनि आयु सकिएको जीर्ण पुरानो पुलमै निर्भर छ । चरीकोट–जिरी सडक खण्ड अन्तर्गत पर्ने पुल निर्माणमा ढिलासुस्ती हुँदा सवारीसाधनहरू दैनिक ठूलो जोखिम मोलेर सञ्चालन भइरहेका छन् ।

स्थानीय राजनकुमार दाहालले भने, “सडक त निर्माण सकियो, तर पुल अझै बनेको छैन । जोखिम बोकेर आवतजावत गर्न बाध्य छौँ ।”

सम्बन्धित निकायले दुई पटक समय थपिदिँदा पनि काम अघि बढ्न सकेको छैन । करिब ४० वर्षअघि बनेको पुरानो पुल अहिले चिरा परेर अत्यन्तै जीर्ण अवस्थामा पुगेको छ ।

स्थानीयवासीले ठेकेदार कम्पनीसँगै जिल्ला, प्रदेश र संघीय सरकार तथा सडक डिभिजन कार्यालयलाई समेत चासो नदिएको भन्दै ध्यानाकर्षण गराएका छन् । वर्षा लागेसँगै नदीको बहाव बढ्दा पुलमा क्षमताभन्दा बढी लोड पर्ने हुँदा ठूलो दुर्घटना हुने सम्भावना रहेको उनीहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *