काठमाडौं । पाटन उच्च अदालतले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न आदेश दिएको छ । विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला अदालतबाट पक्राउ गरी अनुसन्धान गर्ने अनुमति लिएको भए पनि उच्च अदालतले तत्काल पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले यो आदेश जारी गर्दै थप छलफलका लागि सरकारी पक्षलाई पनि बोलाएको छ । साइबर ब्युरोले पाठकलाई पक्राउ गर्न खोजेपछि उनकी श्रीमती शिखा प्रसाईँले उच्च अदालतमा निषेधाज्ञाको निवेदन दायर गरेकी थिइन् ।
पाठकको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, डा.भीमार्जुन आचार्य, अधिवक्ता ओमप्रकाश अर्याललगायतले बहस गरेका थिए । उनीहरूले राज्यले प्रेस र आलोचकहरूप्रति कठोर रवैया अपनाइरहेको र साइबर कानुनको दुरुपयोग गरी पत्रकारहरूमाथि धरपकड गरिरहेको भन्दै यस्तो कार्य रोक्नुपर्ने माग इजलासमा राखेका थिए ।