बर्दिया । कर्णाली नदीको कटानका कारण डुबानको उच्च जोखिममा रहेका बर्दिया र कैलाली सीमावर्ती गाउँहरू जोगाउन स्थानीयवासी दैनिक श्रमदानमा जुटिरहेका छन् ।
बर्दियाको राजापुर नगरपालिका–४, दलैघाट क्षेत्रमा करिब एक दशकअघि तत्कालीन कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेको तटबन्ध जीर्ण बनेपछि नदीले तीव्र गतिमा कटान सुरु गरेको हो । यससँगै तटबन्ध बग्ने खतरा बढ्दा गाउँहरू डुबानको जोखिममा परेका छन् ।
स्थानीय बासिन्दाले रुख, झाला–पाता र बालुवाका बोरा प्रयोग गरी अस्थायी तटबन्ध निर्माण गरेर नदी कटान रोक्ने प्रयास गरिरहेका छन् । दलैगाउँका बडघर गोपाल थारूले भने, “नदीले दैनिक कटान बढाएपछि गाउँ जोगाउन अस्थायी बाँध बनाउन बाध्य भयौं ।”
यदि दलैघाटतर्फबाट नदी पसेमा सङ्घर्षनगर, घुम्ना, दलैगाउँ, शिवपुर, अनन्तपुरलगायत एक दर्जन गाउँ र राजापुर बजार क्षेत्र समेत डुबानमा पर्न सक्ने खतरा स्थानीयले बताएका छन् ।
राजापुर नगरपालिका–४ का बडघर जलवीर थारूका अनुसार करिब एक किलोमिटर क्षेत्रमा नदी कटान भइसकेको छ । उहाँले भने, “विकल्प नभएपछि जनश्रमदानमार्फत अस्थायी तटबन्ध बनाउन थालेका हौं ।”
यद्यपि, स्थानीयको पटक–पटकको मागपछि पनि सरोकारवाला निकायले स्थायी समाधानका लागि कदम चाल्न सकेको छैन । वडा नं. ४ का अध्यक्ष विदुर पोख्रेलका अनुसार कर्णाली नदी नियन्त्रण नहुँदा बाढी र कटान दुवैको खतरा बढ्दै गएको छ । उहाँले वडा नं. ४ का आधा दर्जन गाउँ र वडा नं. ७ सहित करिब १२ सय घर डुबानको जोखिममा रहेको जानकारी दिनुभयो ।
यसैबीच, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुरका प्रमुख सुदिन मोक्तानले गत वर्ष नै दलैघाट क्षेत्रमा स्थायी तटबन्ध निर्माणका लागि विभागमा फाइल पठाइए पनि अझै स्वीकृति नआएकाले काम अघि बढ्न नसकेको बताए ।