बर्दिया। बारबर्दिया नगरपालिका–२, कुमरागाउँदेखि ढुग्रहीसम्मको नयाँ कालोपत्रे सडक निर्माण भएको महिना नपुग्दै भत्किन थालेपछि स्थानीयले ठेकेदार र सम्बन्धित कार्यालयमाथि लापरबाहीको आरोप लगाएका छन्।
सडक पूर्वाधार विकास कार्यालय बर्दियाले २०८१ चैत २२ गते ८३ लाख ३ हजार ८५४ रुपैयाँ लागतमा बैजनाथ बाँकेस्थित निश्चल कन्स्ट्रक्सनसँग सम्झौता गरी असार महिनामा कालोपत्रे सम्पन्न गरेको थियो। तर साउन लाग्नेबित्तिकै सडक भत्किन सुरु भएको हो।
सडक भत्किएपछि स्थानीय बासिन्दा र बडघरले नगरप्रमुख छविलाल थारूसँग अनियमितताको आशंका व्यक्त गर्दै उजुरी गरेका छन्। प्रमुख थारूले “कार्यालय नै यसमा जिम्मेवार छ, अरूलाई दोष दिन मिल्दैन” भन्दै बर्खाका कारण तत्काल पुनर्निर्माणमा कठिनाइ रहेको बताए।
सडक पूर्वाधार विकास कार्यालयका प्रमुख गोविन्द महताराले क्षतिग्रस्त भागको स्थलगत निरीक्षणपछि ठेकेदारले भत्किएको करिब १०० मिटर सडक पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए।
नेपालमा अत्यधिक लागत पर्ने अस्फाल्ट प्रविधिबाट बनेको सडक यति चाँडै भत्किनु स्थानीयका लागि आक्रोशको विषय बनेको छ।