बाजुरा । यहाँका स्थानीय वर्षाको समयमा पक्की पुल नहुँदा खोलाहरू पार गर्न जोखिमपूर्ण काठेपुलमा यात्रा गर्न बाध्य छन्। ग्रामिण सडक विस्तार भए पनि खोलामा पक्की पुलको अभावले स्थानीयहरूको दैनिक आउजाउमा सुरक्षा चुनौती सिर्जना गरेको छ।
बाजुराका अधिकांश गाउँ बस्तीमा सडक पुगिसकेको भए पनि त्यहाँ पर्ने साना खोलामा पक्की पुलको अभावले स्थानीयलाई झोलुङ्गे काठेपुलमा यात्रा गर्न बाध्य बनाएको छ।
खप्तड छेडेदह गाउँपालिका–३ का जकन विक भन्छन्,
“गाउँमा रहेका खहरे खोलाहरू तर्न स्थानीय तहले केही रकम उपलब्ध गराउँछ। त्यस रकमले स्थानीयले त्यहाँ काठेपुल निर्माण गर्छन्। तर काठेपुलमा आउजाउ गर्दा सवारी साधन र पैदल यात्रु दुवैका लागि जोखिम उच्च हुन्छ।”
पुडाबाउला हुँदै डोगडी सम्मको सडकमा धेरै खोलाहरू छन्। हिउँदमा गाडी गुड्न सहज भए पनि वर्खाको समयमा पक्की पुल नहुँदा आउजाउमा समस्या हुन्छ। खप्तड छेडेदह गाउँपालिका–२ का वडाध्यक्ष बीर्कबहादुर रावतले भने, “सडक डिभिजन कार्यालय अछामलाई खोलामा पक्की पुल निर्माणका लागि अनुरोध गरिसक्यौं। यस वर्ष ती खोलामा सर्भे गर्ने तयारी भइरहेको छ।”
हिमाली क्षेत्रका स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडिमालिका, बुढीगङ्गा, त्रिवेणी लगायतका विभिन्न खोलामा पक्की पुल नहुँदा वर्षा मौसममा आउजाउमा कठिनाइ देखिएको छ।
सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी सुवाष साहले भने , “हामीले मुख्यतः राजमार्गमा काम गर्छौं। ग्रामिण क्षेत्रमा काम गर्न हामीसँग पर्याप्त रकम आउँदैन। त्यसैले स्थानीय तहसँग समन्वय गरेर मात्र त्यहाँ पुल निर्माण सम्भव छ।”
स्थानीयको दैनिक जीवन सहज बनाउन र जोखिम घटाउन गाउँ र जिल्ला प्रशासनसँग मिलेर तत्कालै पक्की पुलको व्यवस्था गर्नु आवश्यक छ। वर्षा र बाढीको समयमा जोखिमपूर्ण काठेपुलमा यात्रा गर्नु स्थानीयको जीवन र सम्पत्तिको लागि चुनौतीपूर्ण बन्ने भएकाले दीर्घकालीन योजना आवश्यक देखिन्छ।