बिर्तामोडमा चिनको सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

बिर्तामोड । चिनियाँ राजदुतावासको सहयोगमा बिर्तामोड ८ स्थित शुक्रराज आधारभुत विद्यालयमा निर्माण भएको भवनको उद्घाटन गरिएको छ ।

आज एक कार्यक्रमका विच नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग र बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर भवनको उद्घाटन गर्नु भयो । चिनियाँ राजदुतावासको ५० लाख रुपैयाँको सहयोगमा ४ कोठे २ तले भवन निर्माण भएको हो ।

शुक्रराज आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै राजदूत चेन सोङ्गले शिक्षा सबैभन्दा महत्वपुर्ण विषय रहेकोले यसमा ध्यान दिनु पर्ने बताउनु भयो । चीनको विकास शिक्षाकै कारण भएको बताउँदै उहाँले आगामी दिनमासमेत शिक्षाका क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्दता व्यक्त गर्नु भयो । सोङ्गले नेपाल र चीनको सम्बन्ध पुरानो रहेको भन्दै २०७२ सालमा आएको भूकम्प पछि नेपालमा विभिन्न १० वटा विद्यालय निर्माणमा सहयोग गरेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडको विकासको लागि पुर्वाधार, कृषि, शिक्षा लगायतका क्षेत्रमा चिनियाँ दुतावासले सहयोग पुर्याएको भन्दै धन्यवाद व्यक्त गर्नु भयो ।

यस्तै उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नेपालमा हस्पिटल, हाईड्रोपावर, सडकमा चीनको महत्वपूर्ण सहयोग रहँदै आएको बताउनु भयो । उहाँले विद्यालय भवन निर्माणको लागि रकम उपलव्ध गराएकोमा दुतावासको प्रशंसा गर्नु भयो ।

यसअघि चिनियाँ राजदूत सोङ्गले बिर्तामोड ९ स्थित गरामनीमा रहेको दुर्गा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा ४ सय जना विद्यार्थीलाई विभिन्न १९ प्रकारका स्टेशनरीसहितको व्याग तथा खेलकुदका सामग्री बितरण गर्नु भएको छ । उहाँले दुर्गा मा.वि र शुक्रराज आधारभूत विद्यालयका १०/ १० जना विद्यार्थीलाइ जनही दश हजार रुपैयाँको दरले छात्रवृतीसमेत प्रदान गर्नु भयो । चिनियाँ राजदूत सोङ्ग अझै २ दिन बिर्तामोड तथा अर्जुनधाराका विभिन्न कार्यक्रममा सहभागी हुने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *