मुक्त कमलरीको आर्थिक आशा बन्दै हस्तकला: घरमै व्यापार गर्दै , आत्मनिर्भरता तर्फ

धनगढी । कैलाली र कञ्चनपुरका मुक्त कमलरी महिलाहरू अब हस्तकलाको उत्पादन गरेर आर्थिक रूपमा आत्मनिर्भर बन्दै छन्। टीकापुर–५ बाघमाराकी पवित्रा चौधरी विगत एक वर्षदेखि काँस र मुँजबाट डेलुवा, ढकिया, गमला, हट्केसजस्ता सामग्री बनाउँदै घरबाटै बिक्री गर्दै आईकी छन्। “यसले घर खर्च चलाउन सजिलो भएको छ,” पवित्राले बताइन्। उनले गरेका उत्पादनहरू १२० देखि ६,००० रुपैयाँसम्मको मूल्यमा बिक्री हुने गरेका छन्।

कञ्चनपुरको वेदकोट–५ का ललिता चौधरी राना पनि स्थानीय सामग्री प्रयोग गरी हस्तकलाको सामग्री उत्पादन गर्दै आएको छ। उनी भन्छिन्, “पसल राख्न आवश्यक छैन। आवश्यक परेकाहरू मेरो घरमै आएर सामान किनेर लैजान्छन्।”

सात जना मुक्त कमलरी महिलाहरूले तालिम लिएर हस्तकलाको उत्पादन र बिक्री–व्यवसाय घरबाटै गर्दै आएका छन्। यसले उनीहरूलाई आर्थिक राहत र आत्मनिर्भरता दुवै दिलाएको छ।

कैलारी गाउँपालिका–४ की रुपा चौधरी भन्छिन्, “धेरै उत्पादन गर्न सकेमा मेहनत व्यर्थ हुँदैन। घरमै उत्पादन गरी बिक्री गर्दा क्याम्पस खर्च जुटाउन सजिलो हुन्छ।” उनी अध्ययनरत हुँदा र निजी विद्यालयमा पढाउँदा बच्ने समयको सदुपयोग गरी हस्तकलाको व्यापार गर्दै आएकी छन्।

मुक्त कमलरीहरूको क्षमता विकासमा सहयोग पुर्‍याउने मुक्त कमलरी विकास मञ्चका अध्यक्ष हीरामोती कुमारी चौधरी भन्छिन्, “हाते बुनाइ र सीप विकास तालिमहरूले मुक्त कमलरी महिलाहरूलाई जीविकोपार्जनमा सहयोग पुर्‍याइरहेको छ।”

हस्तकलाको घरैबाट व्यापार गर्ने यो अभ्यासले केवल आर्थिक उन्नति मात्र होइन, महिला सशक्तिकरण र समुदायमा आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *