म्यानपावर कम्पनीलाई मलेसियाले तोक्यो यस्तो नयाँ मापदण्ड

काठमाडौं । नेपाली श्रमिकहरूको आकर्षक गन्तव्य मुलुक मलेसियाले म्यानपावर कम्पनीहरूका लागि १० सर्त राखेको छ । मलेसियाले तोकिएको मापदण्ड पूरा गरेका म्यानपावर कम्पनीहरूबाट मात्रै श्रमिकहरू लैजाने भएको हो ।

मलेसियाले नेपालसँगै श्रमिक पठाउने स्रोत मुलुक बङ्गलादेश, भारत, नेपाल, पाकिस्तान र म्यानमारका म्यानपावरका लागि समेत उक्त सर्त राखेको हो ।मलेसियाले क्वालालम्पुरस्थित नेपाली राजदूतावासलाई पत्राचार गर्दै नेपालबाट कामदार भर्ना प्रक्रिया र कामदार पठाउन संलग्न म्यानपावर कम्पनीहरू व्यवस्थित बनाउने हिसाबले मापदण्ड तोकेको जनाएको छ।

कामदार भर्ना प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउन मलेसियाको मानव संसाधन मन्त्रालयले १० वटा मापदण्ड तय गरेको उल्लेख गरिएको छ ।

अब यी १० मापदण्ड पूरा गरेका म्यानपावरले पठाउन पाउने छन् श्रमिक

१‍. कम्तीमा पाँच वर्षको सञ्चालन अनुमति पाएको हुनुपर्नेछ। साथै ती म्यानपावर कम्पनी तथा एजेन्सीले लगातार कम्तीमा पाँच वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्नेछ।

२. पछिल्ला पाँच वर्षमा कम्तीमा तीन हजार कामदार व्यवस्थापन तथा पठाएको अनुभव भएको अभिलेख हुनुपर्ने।

३. कम्तीमा तीन फरक देशमा कामदार पठाएको अनुभव हुनुपर्नेछ।

४. सम्बन्धित म्यानपावरले श्रमिकहरूको प्रशिक्षण, मूल्याङ्कन, भर्ती र कामदार पठाउने सम्बन्धी काम गर्न वैधानिक रूपमा अनुमति पाएको हुनुपर्नेछ।

५. म्यानपावर सञ्चालकले सर्टिफिकेट अफ गुड कन्डक्ट पाएको हुनुपर्नेछ।

६. एजेन्सी कुनैपनि जबरजस्ती श्रम, मानव बेचबिखन, श्रम कानुन उल्लङ्घन, ठगी वा वित्तीय अपराधमा संलग्न नभएको हुनुपर्नेछ।

७. एजेन्सीले आफ्नै स्वामित्वमा रहेको तालिम तथा मूल्याङ्कन केन्द्र सञ्चालन गरेको हुनुपर्नेछ।

८. पाँच अन्तर्राष्ट्रिय रोजगारदाताबाट सिफारिस पत्र पाएको हुनुपर्नेछ।

९. कम्तीमा तीन वर्षदेखि स्थायी सञ्चालन गरेको कार्यालय हुनुपर्नेछ, जसको न्यूनतम क्षेत्रफल १० हजार वर्गफुट हुनुपर्छ।

१०. अघिल्ला भर्ती प्रक्रियाको कानुनी पालना प्रमाणित गर्ने कागजातहरू पेस गर्नुपर्ने छ।

यी कागजातहरूले एजेन्सीले विगतमा नियमित, कानुनी र व्यवस्थित ढंगले कामदार पठाउने प्रक्रिया पूरा गरेको पुष्टि गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *