सिराज खान
नेपालगन्ज। मनसुन सुरु भएसँगै राप्ती नदीको तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन नरैनापुरका चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरिएको छ ।
नरैनापुर गाउँपालिकाका विपद शाखा प्रमुख एवम् सहायक प्रशासकीय अधिकृत भरत महतोले नरैनापुर वडा नं ५ को मटेहिया, वडा नं ६ को भगवानपुर, सोनवर्षा र गङ्गापुरमा साइरन जडान भएको बताउनुभयो।
स्वचालित उक्त यन्त्रले राप्ती नदीमा खतराको सतह पार गरेको सङ्केत गर्नासाथ साइरन बज्न थाल्ने महतोले बताउनुभयो। साइरन नरैनापुरमा सुनिने गरी राखिएको छ। साइरनसँगै खतराको सङ्केतको सूचना मोबाइल एसएमएसबाट पनि जाने प्रबन्ध गरिएको महतोले जानकारी दिनुभयो ।
बाढीले सबैभन्दा बढी नरैनापुर गाउँपालिका–५ र ६ मा क्षति पुर्याउँदै आएको जनाउँदै गाउँपालिकाले पटक–पटक बाढी आउँदा लाखौँको धनमाल गुमाउन बाध्य नरैनापुरका बासिन्दा अब विपद् आउनु पूर्व सूचना पाउने भएपछि ढुक्क भएको जनाएको छ।
नरैनापुर गाउँपालिका र सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेको सहकार्यमा करिब २८ लाख रुपियाँको लागतमा चार ठाउँमा साइरन जडान गरेपछि स्थानीय बासिन्दा विपदबाट जोगिने आशमा खुसी भएको गाउँपालिकाका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले बताउनुभयो।
उहाँका अनुसार २०७१ सालमा आएको बाढीले राप्ती नदी किनारका कैयौँ स्थानीयलाई घरबार विहीन बनाएको थियो।बाढीले क्षतिग्रस्त भएपछि लामो समयसम्म गाउँले पालमुनि बस्न बाध्य भएका थिए।
सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेका अध्यक्ष चम्पसिह थापा मगरले साइरन जडानपछि वर्षाको समयमा गाउँले ढुक्कसँग निदाउन पाउने भएको बताउनुभयो।