वीरगंज कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, जीर्ण संरचना व्यवस्थापनको चुनौती

पर्सा । वीरगंज कारागार जीर्ण भौतिक संरचना र कैदी–थुनुवाको अत्यधिक चापका कारण व्यवस्थापन संकटमा परेको छ। करिब पाँच दशक पुरानो यो कारागारमा एक हजार कैदी राख्ने क्षमता भए पनि हाल एक हजार ३१० भन्दा बढी कैदी र थुनुवा खचाखच भरिएका छन्।

जिल्ला कारागार पर्साका प्रमुख खिमराज भुसालका अनुसार क्षमता भन्दा बढी कैदी र थुनुवा हुँदा व्यवस्थापनमा ठूलो समस्या भएको छ। विसं २०२९ देखि सञ्चालनमा आएको यो कारागार पुरानो संरचना भएकोले पनि व्यवस्थापनमा चुनौती थपिएको उनले बताए।

वीरगंजको चिनी मिल क्षेत्रमा करिब १८ बिघा क्षेत्रफलमा नयाँ कारागार सार्ने योजना बनाए पनि अझै मूर्तरूप लिन सकेको छैन।

कैदी–थुनुवाको अवस्था :

स्वदेशी महिला कैदी ५ , महिला थुनुवा ४२,आश्रित बालबालिका २,स्वदेशी पुरुष कैदी थुनुवा १,०४६, विदेशी कैदी थुनुवा १९९, विदेशी महिला कैदी–थुनुवा१६ गरि हाल वीरगंज कारागारमा मात्र ३२९ जना कैदी र ९७९ जना थुनुवा रहेका छन्।

भुसालका अनुसार यहाँ प्रायः मौसमी रोग देखिने गरेका छन्। सामान्य उपचार स्वास्थ्य सहायकले गर्ने गर्छन् भने गम्भीर बिरामीलाई नारायणी अस्पताल पठाइन्छ।

हाल कारागार परिसरमा ४७ वटा शौचालय मात्र रहेका छन्, जसका कारण कैदी–थुनुवाले आलोपालो शौच गर्नुपर्ने बाध्यता छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *