काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणवापत हालै वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ । शुल्क खारेज भएसँगै अब साविककै दरमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध हुने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक ३० गते स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ पु¥याएको थियो । यसअघि उक्त शुल्क ६ हजार ५ सय रुपैयाँ मात्र थियो । शुल्क वृद्धि भएपछि वैदेशिक रोजगार व्यवसायी तथा सरोकारवालाहरूले निर्णयको विरोध जनाउँदै आएका थिए ।
श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले व्यवसायी र श्रमिक पक्षको गुनासोलाई सम्बोधन गर्दै वृद्धि गरिएको शुल्क खारेज गरिएको जानकारी दिएका छन् । सरकारको यस निर्णयलाई वैदेशिक रोजगार व्यवसायीहरूले सकारात्मक र स्वागतयोग्य कदमका रूपमा लिएका छन् ।
वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भुवनसिंह गुरुङका अनुसार मन्त्रालयले ३४ वटा स्वास्थ्य परीक्षण अनिवार्य गरिएको आधारमा शुल्क वृद्धि गरेको थियो, तर ती सबै परीक्षण आवश्यक नभएको व्यवसायीहरूको ठहर थियो । “शुल्क वृद्धि गरेर श्रमिकमाथि अनावश्यक आर्थिक बोझ थपिएको थियो,” गुरुङले भने, “अब सरकारले सो निर्णय फिर्ता लिएर श्रमिकको हितमा काम गरेको छ, जुन प्रशंसनीय छ ।”
व्यवसायीहरूले सरकारले आगामी दिनमा श्रमिकमैत्री नीति अवलम्बन गर्दै वैदेशिक रोजगार प्रक्रियालाई थप सहज, पारदर्शी र खर्च कम हुने बनाउने अपेक्षा व्यक्त गरेका छन् ।
