शिक्षक महासंघको फेरि आन्दोलन गर्ने चेतावनी

काठमाडौं । शिक्षक महासंघले सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी नभएपछि फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ ।
महासंघले विज्ञप्ति जारी गर्दै विगतमा भएका सहमति समावेश गरी छिटो शिक्षा विधेयक संसदमा पेस गरी पारित नगरिए संवाद र छलफल छोडेर आन्दोलनमा होमिने चेतावनी दिएको हो ।

‘संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल शीघ्रातीशीघ्र सम्पन्न गरी विगतका सहमति समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरी पारित गराउन हामी सम्बन्धित पक्षको फेरि एकपटक गम्भीर ध्यानाकर्षण गराउँछौं,’ महासंघले भनेको छ, ‘अन्यथा हामी संवाद र छलफल छोडेर आन्दोलनतर्फ होमिने कुरा उदघोष गर्दछौं ।’

महासंघले २० चैतदेखि २९ दिन लामो सडक आन्दोलन गरेपछि ०८२ वैशाख १७ गते असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने सरकारसँग सहमति गरेको थियो । तर समयसीमाभित्र ऐन जारी नभएपछि महासंघले फेरि आन्दोलनको चेतावनी दिएको हो ।

राज्यपक्षप्रतिको आकोश, निराशा र अविश्वासको जगमा उठ्ने आन्दोलनले ल्याउन सक्ने गम्भीर अवस्थाप्रति सचेत रहन पनि महासंघले भनेको छ । ‘त्यसबाट उत्पन्न हुने असहज परिस्थिति र परिणामप्रति राज्यपक्ष नै जिम्मेवार हुने कुरा समेत प्रष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *