सडकमै केराको बोट रोपेर स्थानीयको साङ्गेतिक विरोध

भक्तपुर । अरनिको राजमार्गको वैकल्पिक मार्ग ‘च्यामासिंह–ताथली–नाला’ सडकको दुरावस्थाप्रति आक्रोश व्यक्त गर्दै स्थानीयले सडकमै केराको बोट रोपेर अनौठो तरिकाले विरोध जनाएका छन्।

बनेपा–नाला हुँदै ताथली–च्यामासिंह निस्कने यो मार्ग मर्मत र स्तरोन्नतिको अभावमा जीर्ण बनेपछि दक्षिणकाली युवा समूहले हस्ताक्षर अभियान, ब्यानर टाँस्ने कार्य र अन्ततः केराको बोट रोपेर साङ्गेतिक आन्दोलन थालेका हुन्।

चाँगुनारायण–९ ताथलीस्थित रामसीता मन्दिर क्षेत्रको अधुरो ढलानले थप जोखिम बढाएको भन्दै अध्यक्ष सुरेशराज गिरीले जनप्रतिनिधिलाई पटक–पटक जानकारी दिए पनि बेवास्ता गरिएकाले यस्तो कदम चालिएको बताए।

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–जगाती–साँगा–धुलिखेल खण्ड छ लेनमा विस्तार भइरहेकाले वैकल्पिक मार्गमा दैनिक हजारौँ सवारीसाधनको चाप बढेको गिरीको भनाइ छ। ‘ताथली भञ्याङ खस्ने अवस्थामा छ, रामसीता मन्दिर नजिकको अधुरो सडक जाम र दुर्घटनाको कारण बन्दैछ, तर कसैले वास्ता गरेको छैन,’ उनले भने।

यस सडकको शिलान्यास तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले २०१६ सालमा गरेका थिए, जसलाई स्थानीयले ‘गणेशमान मार्ग’ नाम दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *