सप्तकोसीको बहाव खतराको तह नाघ्यो, धनुषा–सर्लाहीमा भारी वर्षाले बाढी जोखिम

काठमाडौं । लगातारको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव खतराको तह नाघेको छ भने तराईका अन्य जिल्लामा पनि बाढीको जोखिम बढेको छ। शनिबार रातिदेखि जलस्तर बढेपछि कोसी ब्यारेजमा खतराको सङ्केतस्वरूप रातो बत्ती बालिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ बजे गरिएको मापनमा कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख ४३० क्यूसेक पुगेको थियो। नदीको बहाव प्रतिसेकेण्ड १ लाख ५० हजार क्यूसेक नाघेपछि खतरा मानिन्छ र रातो बत्ती बालिन्छ। हाल ५६ मध्ये २८ ढोका खोलिएको छ।

थापाका अनुसार हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको र अवस्था सामान्य रहेको छ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले आइतबार बिहान ७:२० बजे सूचना जारी गर्दै धनुषा र सर्लाहीका केही क्षेत्रमा भारी वर्षा भइरहेकोले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार धनुषाको हर्दिनाथ र तुलसी, सर्लाहीको परवानीपुर क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ।

दक्षिण–पश्चिमतर्फ सर्दै गरेको मौसमी प्रणालीका कारण नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन र सम्भावित जोखिमबाट बच्न पूर्वतयारीमा रहन विभागले सुझाव दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *