काभ्रेपलाञ्चोक । वर्षाका कारण महिनौँ रोकिएको सूर्यविनायक–धुलिखेल सडक विस्तारमा पुनः गती आएको छ। अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका–१० को जनागाल क्षेत्रबाट भैँसेपाटीसम्म कालोपत्र (ब्ल्याकटप) कार्य सुरु भएको आयोजनाले जनाएको छ। भदौमा ‘सिसिटीबी’ (CTB)को काम सम्पन्न भएपछि स्थगित कालोपत्रलाई निरन्तरता दिइएको हो।
आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार साँगातर्फको ‘सिटिबी’ कार्य सकिँदै जाँदा निरन्तर कालोपत्र गरिनेछ। तर बनेपाको पुलबजार क्षेत्रमा करिब छ महिनादेखि स्थानीयको अवरोधका कारण करिब २०० मिटर खण्डमा काम रोकिएको छ। ‘सेन्टर लाइन’को विषयमा दुवैतर्फ घरधनीसँगको विवाद समाधान नहुँदा विस्तार रोकिएको हो।
हाल चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किलोमिटर सडकमा ढल निर्माण सकिएको छ भने अन्य खण्डमा पक्कीकरण, वाल, ड्रेन र पेभमेन्टको काम अन्तिम चरणमा पुगेको छ। बनेपातर्फको सडक कालोपत्रको तयारी समेत भइरहेको खनालले जानकारी दिए।
१६ किलोमिटर लम्बाइको सूर्यविनायक–धुलिखेल सडक विस्तार २०७९ पुस २४ देखि सुरु भएको हो। ३६ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको परियोजना दुई भागमा विभाजन गरिएको छ—सूर्यविनायक–साँगा र साँगा–धुलिखेल। हालसम्म पहिलो खण्डको ४० प्रतिशत र दोस्रो खण्डको ५० प्रतिशत काम सम्पन्न भइसकेको छ।
यद्यपि सहरी क्षेत्रमा पुल निर्माण, घरधनीसँगको मापदण्ड विवाद तथा समयमै संरचना हटाउन नसक्दा परियोजना तोकिएको समयमै सकिने सम्भावना न्यून देखिन्छ। आयोजना पक्षले बाँकी चार महिनाभित्र करिब ६५ प्रतिशत भौतिक प्रगति हुने अनुमान गरेको छ।
यो परियोजना अन्तर्गत पहिलो चरणमा साँगा–धुलिखेल (८.४ किमी) को लागि चार अर्ब पाँच करोड ६४ लाख र दोस्रो चरणमा सूर्यविनायक–साँगा खण्डका लागि तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँको ठेक्का सम्झौता गरिएको छ। राजधानीलाई काभ्रे हुँदै पूर्वतर्फ जोड्ने महत्वपूर्ण मार्ग भएकाले निर्माण छिट्टै सम्पन्न गर्न स्थानीय, निर्माण कम्पनी र सरकारबीच समन्वय बढाउनुपर्ने आवाज उठ्न थालेको छ।