हुम्लाको लिमीका घरघरमा ताला, मानिस काठमाडौँ र चीनतिर पलायन

हुम्ला । उत्तरी हिमाली क्षेत्रको एक समयको गजबको रौनक अहिले सुनसान हुँदै गएको छ । नाम्खा गाउँपालिका–६ अन्तर्गतको लिमी गाउँमा अधिकांश घरका ढोकामा ताला झुन्डिएका छन् । बसाइसराइँ, रोजगारी र व्यापारका लागि चीनको ताक्लाकोटतर्फ गएकाले गाउँ खाली हुँदै गएको हो ।

लिमीको हल्जी गाउँका स्थानीय छिरिङ दावा तामाङका अनुसार ४४ घरधुरी रहेको गाउँमा अहिले तीन घरधुरी मात्र बचेका छन् । “तीन घरमा जम्मा सात जना मात्रै छौं, बाँकी सबै काठमाडौंतिर गएका छन्,” उहाँले भन्नुभयो, “घरमा ताला लगाएर सबैले आफैंसँग मूल्यवान सामान लगेका छन्, गाईबस्तु छिमेकीको जिम्मा छ ।”

हल्जीका बाँकी घरहरू बुढो घरजस्तो खाली छन्—न धुवाँ उठ्छ, न मान्छेको आवाज सुनिन्छ । खेतबारी बाँझै छन्, हिउँद सुरु हुनुअघि नै गाउँ रित्तिँदैछ ।

जाङ गाउँको अवस्था पनि उस्तै छ । त्यहाँ रहेका तीन घरधुरीका परिवार पनि चाँडै काठमाडौंतिर जाने तयारीमा छन् । स्थानीयहरूका अनुसार हिउँद सुरु भएपछि गाउँ मानवविहीन बन्ने निश्चित जस्तै छ ।

लिमीकै अर्को गाउँ तीलमा पनि घरमा ताला झुन्डिन थालेका छन् । ६४ घरधुरी रहेको गाउँमा अहिले २३ मात्र बसोवास छन्, जसमा नौ घरधुरीका सदस्य ताक्लाकोट गइसकेका छन् । बाँकीमध्ये केही काठमाडौं जान तयारीमा छन् ।

नाम्खा गाउँपालिका–६ का वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार लिमीका गाउँहरू क्रमशः रित्तिँदै गएका छन् । “जानु हुन्न भने पनि कसैले मान्दैन,” उहाँले भन्नुभयो, “यो गति चलिरह्यो भने केही वर्षमै लिमी मानवविहीन बन्नेछ ।”

कठोर मौसम, सीमित रोजगारी र सुविधाको अभावले गाउँलेहरू हरेक वर्ष पलायन भइरहेका छन् । अहिलेको ताला लगाउने क्रमले लिमी केवल नक्सामा मात्रै बाँकी रहने डर बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *