काठमाडौँ । देशका केही प्रदेशमा अति भारी वर्षाको पूर्वानुमान गरिएसँगै गृहमन्त्री ओमप्रकाश अर्यालले सम्बद्ध निकायलाई उच्च सतर्क रहन निर्देशन दिएका छन्।
गृहमन्त्री अर्यालले बिहीबार साँझ भर्चुअल बैठकमार्फत विपद् जोखिमलाई ध्यानमा राखी ‘हाई अलर्ट’मा रहन आह्वान गरेका हुन्। उनले विपद् व्यवस्थापनका क्रममा सुशासन र सेवा प्रवाह निरन्तर कायम राख्नुपर्नेमा जोड दिंदै राष्ट्रिय सुरक्षासमेत संवेदनशील रहेकोले चनाखो रहन निर्देशन दिएका हुन्।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज १७ देखि २० सम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि अति भारी वर्षा हुने सम्भावना छ।
उक्त बैठकमा गृहसचिव रामेश्वर दंगाल, गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरू, चारै सुरक्षा निकायका प्रमुख, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।