सुलीकोट । गोरखा र तनहुँको सिमानामा रहेको मझुवा–बैटारी–हटिया सडक ३३ वर्षको प्रतीक्षा पछि कालोपत्रे भएको छ। गोरखा नगरपालिका–१३ भित्र पर्ने पाँच सय मिटर सडक कालोपत्रे भएपछि स्थानीयवासी उत्साहित बनेका छन्।
गोरखा नगरपालिकाको पहलमा नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य कमला पन्तको सांसद विकास कोषबाट ९६ लाख ४३ हजार ६२४ रुपैयाँ खर्च गरेर सडक कालोपत्रे गरिएको हो। उक्त कामको ठेक्का चिराग कन्स्ट्रक्सन प्रालिले २०८० साल जेठ ७ गते लिएको भए पनि विभिन्न कारण देखाउँदै ढिलाइ भएको थियो।
साना सहरी विकास कार्यालय कास्कीको पटक–पटकको ताकेतापछि करिब तीन वर्ष ढिलाइमा सडक कालोपत्रे सम्पन्न भएको वडाध्यक्ष मित्रकुमारी नेपालीले जानकारी दिनुभयो।
यो सडक कालोपत्रे भएपछि दराई गाउँ, जैकोट, फेदीखोला, सातदोबाटे, यु खर्क, बैटारी, सुनार गाउँ, तल्लो हटिया, मनमस्ता, सिमलथुम्की, ढकाल गाउँ, बेलघारी, ठिमुरे, उपल्लो हटिया, कोट गाउँ, छाँकु, प्युघर र याङकोटसम्म पुग्न सहज हुने भएको छ।
सडक कालोपत्रेपछि स्थानीयले उत्पादन गरेका तरकारी र मासुजन्य वस्तुहरू नजिकैको आँबुखैरनी र गोरखा सदरमुकाममा सहजै बिक्री गर्न पाउने भएकाले आर्थिक गतिविधि पनि बढ्ने अपेक्षा गरिएको छ।