काठमाडौंस्थित भारतीय दूतावासमा भव्य रूपमा मनाइयो ७९औँ स्वतन्त्रता दिवस

काठमाडौँ । काठमाडौंस्थित भारतीय राजदूतावासले शुक्रबार ७९औँ स्वतन्त्रता दिवस भव्य रूपमा मनाएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झन्डा फहराउँदै समारोहको उद्घाटन गरे।

कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा दिएको सम्बोधन भिडियोमार्फत प्रसारण गरियो, जसमा विगत ७८ वर्षमा विभिन्न क्षेत्रमा हासिल उपलब्धिहरू र स्वतन्त्रताका लागि बलिदान दिने सेनानीहरूको योगदानप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो।

सो अवसरमा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका दिवंगत गोर्खा सैनिकका परिवारलाई नेपाली रूपैयाँ ६.४ करोड बराबरको एजीआईएफ (आर्मी ग्रुप इन्स्योरेन्स फण्ड) चेक हस्तान्तरण गरे। साथै, नेपालका सातै प्रदेश र २१ जिल्लामा रहेका ३९ वटा विद्यालय र पुस्तकालयलाई पुस्तक अनुदान दिने घोषणा दूतावासले गरेको छ, जसले दुर्गम क्षेत्रका विद्यार्थीहरूको शैक्षिक पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ।

कार्यक्रममा दूतावासका अधिकारी तथा उनीहरूका परिवार, नेपालस्थित भारतीय समुदायका सदस्य, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालयका शिक्षक–विद्यार्थीको उपस्थिति थियो। सहभागीहरूले देशभक्तिपूर्ण गीत र नृत्य प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *