झलनाथ खनालद्वारा चिनियाँ कम्युनिस्ट पार्टी ‘हेनान प्रान्तीय कमिटी’लाई सम्बोधन : कृषि र जलस्रोत व्यवस्थापनमा सहकार्य गर्न आव्हान (पुर्णपाठ)

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चिन भ्रमणको क्रममा ‘चिनियाँ कम्युनिष्ट पार्टी’ हेनान प्रान्तीय कमिटीलाई सम्बोधन गर्नुभएको छ । खनालले बेइजिङमा आयोजना हुन गैरहेको ‘विश्व सभ्यता संवाद’ कार्यक्रममा सहभागी हुनुअघि, चिनियाँ सभ्यताको उद्गमस्थल मानिने ऐतिहासिक र आधुनिक विकासको दिशामा अगाडि बढिरहेको प्रान्तको भ्रमण साथै पार्टीको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्नुभएको हो । 

खनालले चिनियाँ कम्युनिस्ट पार्टी, हेनान प्रान्तीय कमिटीकालाई गर्नुभएको सम्बोधनको पुर्णपाठ यस्तो छ ।

चिनियाँ कम्युनिस्ट पार्टी, हेनान प्रान्तीय कमिटीका सेक्रेटरी कमरेड लिउ निङ, यहाँ उपस्थित चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेता कमरेडहरु, हेनान प्रान्तका पदाधिकारीहरू तथा उपस्थित सम्पूर्ण मित्रहरू,
सर्वप्रथम, हामिलाई यस ऐतिहासिक र सुन्दर हेनान प्रान्तमा न्यानो स्वागत तथा आतिथ्यता प्रदान गर्नुभएकोमा चिनियाँ कम्युनिष्ट पार्टी हेनन प्रान्तीय कमिटीलाई हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। बेइजिङमा आयोजना हुन गैरहेको ‘विश्व सभ्यता संवाद’ कार्यक्रममा सहभागी हुनुअघि, चिनियाँ सभ्यताको उद्गमस्थल मानिने यो ऐतिहासिक र आधुनिक विकासको दिशामा अगाडि बढिरहेको सुन्दर प्रान्तको भ्रमण गर्ने अवसर पाउनु हाम्रा लागि अत्यन्तै खुसी र गौरवको कुरा हो। यो ३ दिने भ्रमण र आजको यो महत्त्वपूर्ण अन्तरक्रिया कार्यक्रमको आयोजना गर्नुभएकोमा म हेनान प्रान्तीय कमिटी र विशेषगरी सेक्रेटरी कमरेड लिउ निङप्रति विशेष आभार व्यक्त गर्दछु।
मित्रहरू,
आज सम्पूर्ण विश्वले चिनियाँ विशेषतासहितको आधुनिकीकरणको मोडललाई गहिरो चासो र उत्सुकताका साथ हेरिरहेको छ। महासचिव कमरेड सी जिनपिङले अगाडि सार्नुभएको यो नवीन अवधारणा केवल भौतिक पूर्वाधार वा आर्थिक विकासको मात्र कुरा होइन, यो मानवताको साझा भविष्य, वातावरणीय सन्तुलन र सामाजिक न्यायसँग जोडिएको एक प्रगतिशील विश्वदृष्टिकोण हो। यस मोडलको सबैभन्दा महत्त्वपूर्ण र प्रेरणादायी विशेषता भनेको ‘विश्वका सबै जनताको साझा समृद्धिको लागि आधुनिकीकरण’ भन्ने हो। पुँजीवादी आधुनिकीकरणले बढाएको असमानताको खाडलको सट्टा, चीनले विश्वका सबै नागरिकलाई विकासको मूल प्रवाहमा समेट्ने लक्ष्य लिएको छ। किनभने साझा समृद्धि हासिल गर्नु समाजवादको एक अनिवार्य र आधारभूत सिद्धान्त हो, र समाजवादी चीनले यही सिद्धान्तलाई व्यवहारमा उतारेर विश्वसामु एक अनुपम उदाहरण प्रस्तुत गरेको छ। म यसका लागि चिनियाँ कम्युनिस्ट पार्टी, चिनियाँ सरकार र महान् चिनियाँ जनताहरूलाई हार्दिक बधाई तथा अभिनन्दन गर्न चाहन्छु। त्यही समाजवादी सिद्धान्त र जनताप्रतिको प्रतिबद्धतालाई अङ्गीकार गरेकै कारण चीनले छोटो अवधिमा करिब ८० करोडभन्दा बढी जनतालाई गरिबीको निरपेक्ष रेखाबाट बाहिर निकाल्न सफल भएको छ। यो कुनै सामान्य उपलब्धि होइन। यो मानव इतिहासमै एक अभूतपूर्व र चमत्कारी सफलता हो। यही समाजवादी क्रान्ति र रूपान्तरणको जगमा उभिएर महासचिव सीले प्रस्ताव गर्नुभएको साझा समृद्धिको चिनियाँ मार्गले चिनियाँ कम्युनिस्ट पार्टीको समाजवादप्रतिको निरन्तर प्रतिबद्धतालाई मात्र दर्शाउँदैन, बरु यसले ‘जनताका लागि शासन’ (Governing for the People) भन्ने समाजवादी मान्यतालाई मूर्त रूप दिएको छ। हेनान प्रान्तको यो तीन दिने भ्रमणका क्रममा मैले देखेको द्रुत विकास, यहाँका जनतामा देखिएको अदम्य उत्साह र आत्मविश्वासले कमरेड सी जिनपिङले अगाडि सार्नुभएको त्यही समाजवादी मोडेलको सफल कार्यान्वयनलाई जीवन्त रूपमा प्रतिबिम्बित गर्दछ।
कमरेडहरू,
अब म हेनान प्रान्तको आधुनिक विकास र यहाँका विशिष्ट उपलब्धिहरूबारे केही कुरा राख्न चाहन्छु। चिनियाँ कम्युनिस्ट पार्टी, हेनान प्रान्तीय कमिटीका सेक्रेटरी कमरेड लिउ निङको कुशल, दूरदर्शी र ऊर्जावान् नेतृत्वमा हेनानले हासिल गरेको प्रगति साँच्चै लोभलाग्दो र प्रशंसनीय छ। सन् २०२४ मा यहाँको कुल गार्हस्थ्य उत्पादन (GDP) ५.९ ट्रिलियन युआनभन्दा बढी हुनु र अन्न उत्पादन लगातार सात वर्षसम्म ६ करोड ५० लाख मेट्रिक टनभन्दा माथि स्थिर रहनुले यहाँको नेतृत्वको व्यवस्थापकीय क्षमता र कार्यान्वयन कुशलतालाई स्पष्ट पार्दछ। आज हेनानलाई विश्वसँग जोड्ने समुद्र, भूमि, वायु र डाटाका ‘चार रेशम मार्ग’ (Four Silk Roads) को अवधारणाले मलाई अत्यन्तै प्रभावित बनाएको छ। एक भूपरिवेष्ठित प्रान्त भएर पनि आफूलाई विश्व बजारसँग जोड्ने यो नवीन सोच भूपरिवेष्ठित मुलुक नेपालको लागि आफैमा प्रेरणादायी छ। हेनानमा ४,२०० भन्दा बढी उच्च-प्रविधि उद्योगहरू स्थापित हुनुले यो प्रान्त कसरी एक परम्परागत कृषि क्षेत्रबाट एक ‘खुला र नवीनताको उच्च भूमि’ (Open and Innovative Highland) मा रूपान्तरण भएको छ भन्ने ज्वलन्त उदाहरण प्रस्तुत गर्दछ। वास्तवमा, यो चिनियाँ शैलीको आधुनिकीकरणको एक सफल लघुचित्र (Microcosm) हो। म हेनान प्रान्तको यो अद्भुत विकास र आधुनिकीकरणको मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु।  साथै, यस अवसरमा, म हेनान प्रान्तका ती सम्पूर्ण चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरूको उच्च प्रशंसा गर्न चाहन्छु, जसको अथक मेहनत, त्याग, समर्पण र वैज्ञानिक समाजवादी दृष्टिकोणले आज हेनानले विकास र आधुनिकीकरणको यो उचाइ हासिल गरेको छ।
मित्रहरू,
हेनानलाई ‘नदीहरूको प्रान्त’ भनेर पनि चिनिन्छ, जुन मेरो देश नेपालसँग मिल्दोजुल्दो छ। नेपाल पनि हजारौं नदीनाला र जलस्रोतको धनी देश हो। सेक्रेटरी कमरेड लिउ निङ स्वयं जल संरक्षण र व्यवस्थापनको क्षेत्रमा एक विशेषज्ञ हुनुहुन्छ। उहाँले जलस्रोत परियोजनाहरूलाई व्यावसायिक र वैज्ञानिक दृष्टिकोणबाट अगाडि बढाउनुभएको अनुभव हाम्रो लागि पनि अत्यन्त सान्दर्भिक छ। तपाईंहरूले जलसम्पदाको संरक्षण गर्ने र त्यसलाई विकासको आधार बनाउने जुन पद्धति विकास गर्नुभएको छ, यो हाम्रो नेपालको लागि पनि त्यत्तिकै उपयोगी हुने मैले महसुस गरेको छु। त्यसैगरी, कमरेड लिउ निङले छिङ्हाई, लिओनिङ र ग्वाङ्सी जस्ता विभिन्न प्रान्तहरूमा सरकार सञ्चालनको महत्वपूर्ण जिम्मेवारी पूरा गरेर जुन अनुभव र विज्ञता हासिल गर्नुभएको छ, कमरेड लिउको त्यो अनुभव र विज्ञता नै समग्र हेनानको विकास र आधुनिककरणको राज हो भन्ने निष्कर्षमा म पुगेको छु। “अभ्यासबाट साँचो ज्ञान आउँछ र अनुभवबाट क्षमता बढ्छ” (True Knowledge Comes from Practice and Ability is Enhanced by Experience) भन्ने मान्यताबाट कार्यकर्ताहरूलाई प्रशिक्षित गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको यो प्रणाली साँच्चै नै अनुकरणीय छ।
मित्रहरू,
अब म नेपाल-चीन सम्बन्ध र विशेषगरी नेपाल र हेनान प्रान्तबीचको सहकार्यको सम्भावनाबारे केही कुरा राख्न चाहन्छु। नेपाल र चीनबीचको सम्बन्ध कुनै राजनीतिक सम्झौताबाट मात्र बनेको होइन, यो हजारौं वर्ष पुरानो, सांस्कृतिक, सामाजिक र जनस्तरमा गहिरोसँग गाँसिएको छ। भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले सयौं वर्ष पहिले नै हाम्रो सभ्यतालाई जोड्ने पुल निर्माण गर्नुभएको थियो। भर्खरै हामीले कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाएका छौं। यो ऐतिहासिक सम्बन्धलाई ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (BRI) को बृहत् छातामुनि थप सुदृढ र फलदायी बनाउन नेपाल र हेनान प्रान्तबीच सहकार्यका अपार सम्भावनाहरू मैले देखेको छु।
पहिलो भनेको कृषि आधुनिकीकरणमा सहकार्य नै हो। चीनको पाँचौं ठूलो अर्थतन्त्र भएको हेनानले देशको उर्वर जमिनको छैटौं भागभन्दा कम क्षेत्रफलबाट चीनको १० प्रतिशत अन्न र एक चौथाइ गहुँ उत्पादन गर्छ। यो कृषि क्रान्तिको अनुपम उदाहरण हो। नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान करिब एक चौथाइ छ, तर हाम्रो उत्पादकत्व अत्यन्त न्यून छ। हामी कृषिमा यन्त्रीकरण, आधुनिकीकरण र सामूहिकीकरण गर्न चाहन्छौं। यसका लागि म हेनान र नेपालबीच कृषि प्रविधि हस्तान्तरण, सिँचाइ प्रविधि, खाद्य प्रशोधन र उच्च उत्पादन दिने बीउबिजनका लागि एक संयुक्त ‘कृषि प्रविधि प्रदर्शन केन्द्र’ (Agriculture Technology Demonstration Center) स्थापना गर्न प्रस्ताव गर्दछु। यो केन्द्रले नेपाली किसानहरूलाई आधुनिक प्रविधि सिक्ने र उत्पादनमा गुणात्मक वृद्धि गर्ने अवसर प्रदान गर्नेछ, जसले नेपालको खाद्य सुरक्षामा ठूलो योगदान पुर्‍याउनेछ।
दोस्रो सहकार्यको क्षेत्र भनेको जलस्रोत व्यवस्थापन र नवीकरणीय ऊर्जा हो। नेपालसँग ८३,००० मेगावाट जलविद्युतको अपार क्षमता छ, तर हामीले यसको सानो अंश मात्र उपयोग गर्न सकेका छौं। हेनान प्रान्तको जलस्रोत व्यवस्थापन र ऊर्जा विकासको अनुभवबाट हामी सिक्न चाहन्छौं। यसका साथै, हाम्रो जटिल भौगोलिक बनावटका कारण नेपालले हरेक वर्ष बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिको सामना गरिरहेको छ। हामी हेनान प्रान्तको उन्नत जल व्यवस्थापन र विपद् न्यूनीकरणको अनुभवबाट सिक्दै हाम्रो जलस्रोतलाई ‘विपत्तिको स्रोत’बाट ‘विकासको दिगो स्रोत’मा रूपान्तरण गर्न चाहन्छौं। यसका लागि हामी कमरेड लिउ निङजस्तो विज्ञको बौद्धिक र राजनीतिक अनुभवबाट लाभ लिन उत्सुक छौं।
तेस्रो भनेको सांस्कृतिक तथा पर्यटकीय आदानप्रदान हो। नेपाल शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि हो र हेनान प्रान्त बौद्ध धर्मको ऐतिहासिक केन्द्र हो, हेनान प्रान्तमा रहेको शाओलिन बौद्ध मन्दिर विश्व प्रसिद्ध छ। त्यसैगरी हामीले हिजो मात्र भ्रमण गरेको White Horse Buddha Temple चीनमा स्थापना भएको पहिलो बुद्ध मन्दिर हो। तसर्थ यसको आफ्नै ऐतिहासिक र धार्मिक महत्त्व छ। यो साझा सांस्कृतिक सम्पदाले हामीलाई अझ नजिक ल्याएको छ। हामी लुम्बिनी र हेनानबीच सीधा पर्यटकीय र सांस्कृतिक सम्बन्ध स्थापित गर्न सक्छौं। हामी हेनानका बौद्ध धर्मावलम्बीहरूलाई बुद्धको जन्मभूमि लुम्बिनीको भ्रमण गर्न र विश्वको सर्वोच्च शिखर सगरमाथाको अवलोकन/आरोहण गर्न हार्दिक निमन्त्रणा गर्दछौं।
अन्त्यमा,
म विश्वस्त छु कि हाम्रो साझा समाजवादी लक्ष्य, आपसी विश्वास र सहकार्यको भावनाले नेपाल र हेनानबीचको सम्बन्ध भविष्यमा अझ प्रगाढ, जीवन्त र फलदायी बन्नेछ। म यहाँ उपस्थित सम्पूर्ण चिनियाँ कम्युनिस्ट पार्टीका नेतागण, कार्यकर्ताहरू र मित्रहरूलाई विश्वकै सुन्दर र शान्त भूमि नेपाल भ्रमणको लागि हार्दिक निमन्त्रणा गर्न चाहन्छु। हामी सदैव तपाईंहरूको न्यानो स्वागत गर्न आतुर छौँ। यति भन्दै, चिनियाँ कम्युनिस्ट पार्टी हेनान प्रान्तको यो न्यानो स्वागत, सम्मान र भव्य आतिथ्यताका लागि फेरि एकपटक धन्यवाद दिँदै मेरो भनाइ यहीँ अन्त्य गर्दछु। धन्यवाद !
नेपाल-चीन मैत्री सम्बन्ध अमर रहोस्। 
नेपाल-हेनान मैत्री सम्बन्ध अमर रहोस्।
लाल सलाम!

Leave a Reply

Your email address will not be published. Required fields are marked *