काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा शुक्रवार दिउँसो ग्यास सिलिण्डर विस्फोटका कारण भएको भीषण आगलागीले ४० वटा घर र पसल पूर्णरूपमा जलेर नष्ट भएका छन् । स्थानीय नवदुर्गा होटलमा खाना पकाउने क्रममा दिउँसो ३:३० बजे ग्यास सिलिण्डर विस्फोट हुँदा आगलागी सुरु भएको थियो ।
बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँका अनुसार, आगलागीले बजार क्षेत्रमा ठुलो क्षति पुर्याएको छ । ४० भन्दा बढी घर र पसल पूर्णरूपमा नष्ट भएका छन् । क्षतिको यकिन विवरण आउन बाँकी छ । तीन घण्टाको अथक प्रयासपछि बल्ल आगो नियन्त्रणमा आएको जनाइएको छ ।
प्रमुख बानियाँले दमकलको अभावमा आगो नियन्त्रण गर्न कठिनाइ भएको बताए । स्थानीयले गाग्री, बाल्टी र ट्याङ्करमा पानी ल्याएर आगो नियन्त्रणमा ल्याएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव चौधरीले पनि आगलागीका कारण लाखौँको क्षति भएको अनुमान गरिएको बताए ।
आगलागीले बाम्का बजारको ठुलो हिस्सा सखाप भएको छ । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि पीडित परिवारहरूको पुनर्स्थापना र राहतको आवश्यकता रहेको छ । नगरपालिकाले क्षतिको विवरण सङ्कलन र राहत वितरणको तयारी सुरु गरेको जनाएको छ ।