बाजुरा । असारमा खेतमा धान रोपिसकेपछि साउन लाग्नेबित्तिकै बाजुराका गाउँ खाली हुन थाल्छन् । युवाले झोला बोकेर भारतको बाटो समाउँछन् । गाउँमा बाँकी रहन्छन्—वृद्धबुबा–आमा र विद्यालय जाने साना बालबालिका ।
बूढीगङ्गा नगरपालिका–२ का भानसिहं थापा यतिखेर भारत जान तयारी गर्दै छन् । उनले उच्च शिक्षा पढे पनि गाउँमा रोजगारी पाइनन् । “गाउँमा जमिन छ तर सिँचाइ छैन, मेहनत गरे पनि फलदायी हुँदैन । छोराछोरी पढाउन र परिवार पाल्नकै लागि भए पनि भारत जानैपर्छ,” उनले भने ।
खेतबारी छ तर काम छैन
बाजुराका गाउँहरूमा धान, गहुँ, कोदो लगाउने परम्परा छ । तर खेती मौसमी मात्रै हुन्छ । सिँचाइ नभएकाले उर्वर जमिन उपयोग हुन सकिरहेको छैन । खेतबारी बाँझै रहन्छ, र युवाले परिवार पाल्नको लागि गाउँ छाड्नुपर्छ ।
भारत रोजगारीमा गएका युवाहरू दशैँ–तिहार वा माघी–बीसुमा मात्रै गाउँ फर्किन्छन् । बाँकी समय गाउँ सुनसान हुन्छ । “गाउँमा रमाइलो गर्ने उमेरका युवाहरू छैनन्, गाउँ सुनसान देख्दा मन पोल्छ,” स्थानीय वृद्धाले दुखेसो पोखिन् ।
रोजगारको अवसर नपाएको गुनासो
गाउँमै विकास निर्माणका काम भए पनि त्यसमा बाहिरका कामदार ल्याइन्छन् । ठेकदारले डोजर प्रयोग गर्छन्, स्थानीय युवाको श्रम प्रयोग हुँदैन । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमजस्ता योजनाले थोरैलाई मात्रै काम दिएको छ । “काम धेरै चाहिन्छ, पाउने भने थोरैले मात्रै पाउँछन्,” वडाध्यक्ष रणबहादुर थापाले भने ।
पहिला बेरोजगारी मात्रै कारण थियो, तर अहिले बाढी–पहिरोले गाउँ बस्ती नै खतरामा छन् । त्रिवेणी, खप्तड, गौमूल, हिमाली, स्वामिकार्तिक खापरलगायतका गाउँ पहिरोले तहसनहस भएपछि गाउँ रित्तिने दर झन् बढेको छ ।
स्थानीयहरू भन्छन्—यदि सिँचाइ सुविधा मिलाइने, गाउँमै रोजगारी सिर्जना गर्ने र विकासका काममा स्थानीय श्रमलाई प्राथमिकता दिइने हो भने युवालाई रोक्न सकिन्छ ।
भानसिहं थापा भने झोला बोकेर बाटोमा निस्किँदै छन् । “मन त गाउँमै बस्न चाहन्छ तर पेटले मान्दैन । काम छैन, विकल्प छैन, भारत जानैपर्छ,” उनले निस्कँदै गर्दा भने ।