बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा अहिले पनि सवारीसाधन फेरीकै भरमा चलिरहेका छन् । कर्णाली नदीमा पक्की पुल नहुँदा यहाँको सम्पूर्ण यातायात प्रणाली अस्थायी फेरीमाथि निर्भर रहँदा हरेक वर्ष बर्खाको समय जनजीवन नै अस्तव्यस्त हुने गरेको छ ।
स्वामीकार्तिक खापर र जगनाथ गाउँपालिकाबीच पर्ने कर्णाली नदीमा केही वर्षअघि स्थानीय सरकारले फेरी सञ्चालनमा ल्याएको थियो । तर, यो फेरी हिउँदमा मात्र सञ्चालन हुन्छ र बर्खा सुरु हुनासाथ नदीमा पानीको बहाव बढ्दा सेवा पूर्ण रूपमा बन्द हुने गर्छ ।
हाल स्वामीकार्तिक खापर गाउँपालिकाका अधिकांश बस्ती सडक सञ्जालले जोडिएका छन् । तर बर्खा लाग्नेबित्तिकै ती सडक सुनसान हुन्छन् । कर्णाली नदी पार गर्न पुल नहुँदा गाडीहरू पिलिचौरमै रोकिन्छन्, जसका कारण गाउँहरू फेरि पुरानै कठिनाइमा फर्कने गरेका छन् ।
स्थानीयवासीहरू स्मरण गर्छन्—पहिले उनीहरू घोडा, खच्चर, भेडा र पिठ्युँमा भारी बोकेर झोलुङ्गे पुलमार्फत खाद्यान्न ढुवानी गर्थे । अहिले सडक पुगे पनि फेरी बन्द हुँदा त्यही समस्या दोहोरिन्छ ।
२०७७/७८ सालमा सञ्चालनमा आएको फेरीले स्थानीयको जीवनशैलीमा केही सहजता ल्याएको थियो । स्वामीकार्तिक खापर गाउँपालिका–८ का नरे लुहार भन्छन्, “पहिले हप्तौँ लाग्थ्यो सामान ल्याउन, अहिले फेरीले नुन, तेल, चामलजस्ता दैनिक उपभोग्य वस्तु सजिलै आउँछ । तर बर्खा लागेपछि फेरि सबै ठप्प हुन्छ ।”
फेरी चल्दा स्वामिकार्तिक खापर गाउँपालिकाका विभिन्न ठाउँमा जिप र ट्र्याक्टर पुग्छन्, तर वर्षायाम सुरु हुनासाथ कर्णालीको बहाव बढ्दा ती सबै सवारीसाधन पिलिचौरमै रोकिन्छन् ।
स्थानीयका अनुसार, हिउँदमा सहज हुने यो फेरीमा भर पर्नु दीर्घकालीन समाधान होइन । वर्षौँदेखि पुलको माग हुँदै आएको तर राज्यले बेवास्ता गर्दा यहाँको विकास नदीको किनारमै रोकिएको छ ।
स्थानीयवासीहरूले अब कर्णाली नदीमा स्थायी पुल निर्माण गर्न सरकारलाई तत्काल पहल गर्न आग्रह गरेका छन् । उनीहरूको भनाइमा, “फेरीले अस्थायी राहत मात्र दिएको छ, तर पुल बनेपछि मात्रै हामी स्थायी राहत र विकासको बाटोमा उत्रन सक्छौं ।”
